मलंगवा, ०३ फागुन – नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ ।
१७३ जना मतदातामध्ये १६४ जनाले मतदान गरेका छन् । ९ जना भने अनुपस्थित रहे । ४४ औँ जिल्ला सभामा नयाँ नेतृत्व चयनका लागि सहमती जुट्न नसकेपछि आज मतदान गरेर टुंग्याउन लागिएको हो । रेडक्रसको तीन जना पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् ।
महिला उपाध्यक्षमा भवानी कोइराला, मन्त्रीमा शशीभुुषण सिंह (राजन) र उप–कोषाध्यक्षमा मधु राय सर्वसम्मत चयन भएका हुन् । बाँकी पदाधिकारी र सदस्य चुन्न आज मतदान हुन लागेको हो । मतदान मलंगवास्थित जिल्ला रेडक्रसको कार्यालयमा सम्पन्न भएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेपछि सकेर अहिले मतगणना जारी छ ।
आजै साँझसम्म अन्तिम मतपरिणाम समेत सार्वजनिक हुने बताइएको छ । रेडक्रस सर्लाहीको सभापतिका लागि निवर्तमान सभापति नागेन्द्रप्रसाद चौधरी र पूर्व गाविस सचिव समेत रहेका हरिकान्तलाल कर्णको उम्मेदवारी परेको छ । त्यस्तै उपसभापतिमा विश्वनाथ ठाकुर र सेख सहदुल्लाहले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा शम्भु कुशवाहा र उमेश मिश्र तथा सहमन्त्रीमा मुकेश मिश्र र ऋषी शर्माको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । ७ जना खुल्ला सदस्यका लागि १३ जना र ३ जना महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
मतदानमा रेडक्रस सर्लाही अन्तर्गत जिल्लाका २५ वटा उपशाखाबाट ५ जनाको दरले छनौट भएर आएका १५० जना प्रतिनिधि, जिल्ला शाखाका निवर्तमान कार्य समितिका १८ जना र मनोनित ५ जना सदस्य समेत गरी १७३ जना मतदाता रहेका छन् ।