logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मुल्य नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा


  • उज्यालो अभियान

अत्रौली, ०३ फागुन – सर्लाहीका किसानले उत्पादन गरेको गोलभेँडा बारीमै कुहिएर नष्ट हुन थालेको छ ।

मुल्य नपाउँदा किसानले गोलभेँडा टिप्नै छाडेका छन् । गोलभेँडा प्रतिकेजी छ देखि आठ रुपियाँमा बेच्नुपर्ने अवस्था रहेको किसानले गुनासो गरेका छन् ।

हरिवन नगरपालिका–१, पटौनाका किसान चमारसिंह लोप्चनले गोलभेँडा उत्पादन हुने मुख्ययाममै भाऊ नपाउँदा मर्कामा परेको गुनासो गरे । “चाँडो फलाउनेले त राम्रै मुल्य पाए तर हामी अन्तिमतिर फलाउनेलाई गोलभेँडा बेच्नै मुस्किल परिरहेको छ” लोप्चनले भने, “गोलभेँडा पाकेर राताम्मे भएपनि बजार लैजाँदा भाऊ नै छैन् ।”

गोलभेँडा टिप्नेलाई प्रतिक्रेट ५० रुपियाँ दिएर बजारमा १५० रुपियाँदेखि २०० रुपियाँमा बेच्नुपर्ने अवस्था आएको किसानले भनाई छ । हरिवन नगरपालिका–१, तित्रीगाँछीकी विष्णु बम्जनले मुल्य नै नपाएपछि आफूले दुुई कठ्ठामा उत्पादन गरेको गोलभेँडा टिप्नै छाडेको बताए ।

गोलभेँडा बिक्री हुन छाडेपछि आफूले त बाख्रा लगाएर चराउन थालेको बम्जनले जानकारी दिए । “हुस्सु हटेर घाम चर्किन थालेपछि गोलभेँडा एकैचोटी पाक्छ, धेरै पाकेर बजार लगेको गोलभेँडा बिक्री नै हुँदैन” बम्जनले भने,“पाँच÷छ रुपियाँमा बेच्नुभन्दा गोलभेँडा बारीमा बाख्रा छोडेर चराउने गरेको छु ।”

छ महिनाका लागि प्रतिकठ्ठा चार हजार रुपियाँ जग्गाभाडा लिएर गोलभेँडा खेती गरेका सर्लाही अत्रौलीका किसान रञ्जुदेवि महतोले भाऊ नपाउँदा जग्गाभाडा कसरी तिर्ने भन्ने चिन्ताले सताएको बताए । गोलभेँडा टिप्नेलाई ५० रुपियाँ ज्याला र बजारसम्म पुुर्याउने अटोलाई ढुवानी खर्च तिरेर प्रतिक्रेट १५० देखि २०० रुपियाँमा बिक्री गर्नुपर्दा आफूलाई केही बच्ने अवस्था नरहेको महतोको गुनासो छ ।

महतोले जग्गा भाडामा लिएर हाइब्रिड गोलभेँडा खेती गरेका छन् । “व्यापारीले जति मुल्य दिन्छन, त्यसैमा चित्त बुुझाएर फर्किने गरेका छौँ, महतोले भने, “जति बिक्छबिक्छ, नबिकेको बारीमै कुहिएर गइरहेको छ ।”

व्यावसायिक रुपमा गोलभेँडा खेती हुने सर्लाहीको उत्तरी भेगका किसानले तीनघरे, नवलपुर र लालबन्दी बजारमा ल्याएर गोलभेँडा बिक्री गर्ने गरेका छन् । लालबन्दीस्थित कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष एवं व्यापारी तोरनबहादुर मगरले गोलभेँडा व्यापक उत्पादन भएकाले मुल्य घटेको जानकारी दिए ।

धेरै उत्पादन हुने याममा वर्षेनि गोलभेँडाको मुल्यमा व्यापक गिरावट आउने गरेको उनले बताए । “यहाँ अहिले गोलभेँडा उत्पादन हुने मध्यसिजन हो,” मगरले भने, “बजारमा धेरै नै गोलभेँडा आइरहेकाले किसानले भाऊ पाउन नसकेका हुन् ।”

सर्लाहीबाट काठमाडौँलगायत देशका अन्य मुख्य बजारमा दैनिक १० देखि १२ वटासम्म ट्रक तथा बोलेरोमा गोलभेँडा निकासी भइरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।