logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने


  • उज्यालो अभियान

मलंगवा, ०२ फागुन – सर्लाहीमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा आज दिउँसो जिल्ला प्रशासन कार्यालय मलंगवाको नवनिर्मित भवनमा सम्पन्न बैठकले फागुन ७ गते परेको राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नगरप्रमुख, पालिका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुखलगायतको उपस्थितिमा भएको बैठकले जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको अध्यक्षतामा जिल्लास्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

सोही समितिको आयोजनामा फागुन ६ गते बिहान प्रादेशिक अस्पताल मलंगवामा उपचाररत् बिरामीलाई फलफूल वितरण गर्ने निर्णय गरिएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र दिवसको मुख्य दिन फागुन ७ गते सदरमुकाम मलंगवामा प्रभातफेरि, जिल्ला प्रशासन कार्यालयमा झण्डोत्तोलन, सोही कार्यालय परिसरमा रक्तदान र मलंगवाको तीनबिघे मैदानमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा आयोजना गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले उज्यालो अभियानसँग बताए ।

आजको बैठकले फागुन ६, ७ र ८ गते जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा आम नागरिक समेतलाई साँझ दीप प्रज्वलन गर्न आह्वान गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पालिका तथा विभिन्न निकायमा राष्ट्रिय झण्डा फहराउने एवं अन्य रचानात्मक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेका छन् ।