logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रेडक्रस सर्लाहीको नेतृत्वमा जुटेन सहमती, भोली मतदान हुने


  • उज्यालो अभियान

मलंगवा, ०२ फागुन – नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको नयाँ नेतृत्व चयन गर्न मतदान हुने भएको छ ।

रेडक्रस जिल्ला सभाको ४४ औँ अधिवेशनमा आज नेतृत्व चयनका लागि गरिएको सहमतीको प्रयास असफल भएपछि भोली मतदान हुने भएको हो । नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि भोली मतदानबाट टुंगो लगाउन आज अधिवेशन उद्घाटनकै दिन उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ ।

रेडक्रस जिल्ला शाखा सर्लाहीको सभापतिका लागि निवर्तमान सभापति नागेन्द्रप्रसाद चौधरी र पूर्व गाविस सचिव समेत रहेका हरिकान्तलाल कर्णले उम्मेदवारी दर्ता गराएका छन् ।

उपसभापतिमा विश्वनाथ ठाकुर र सेख सहदुल्लाहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मन्त्री पदमा भने राजनकुमार सिंह सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा शम्भु कुशवाहा र उमेश मिश्र, सहमन्त्रीमा मुकेश मिश्र र ऋषी शर्माको उम्मेदवारी दर्ता भएको छ । सदस्यमा पनि उम्मेदवारी दर्ता भएको छ ।

मतदानमा विभिन्न शाखा तथा उपशाखाबाट छानिएका गएका प्रतिनिधिले मत खसाल्न पाउने छन् । त्यस्ता प्रतिनिधि १७३ जना रहेका छन् ।

अधिवेशनको आज जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यता र विभिन्न पालिकाका प्रमुख तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।