logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवा आएर लोसपा अध्यक्ष ठाकुरले भने-नैतिकताका आधारमा सरकार छाड्दै छौँ


  • उज्यालो अभियान

मलंगवा, ०१ फागुन – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारबाट बाहिरिने तयारी गरिएको बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा आज अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै ठाकुरले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् । “सरकारले ल्याएको भूमिसम्वन्धी अध्यादेश हाम्रो पार्टीले अस्वीकार गर्ने निर्णय गरिसकेको छ, यो अवस्थामा नैतिकताको हिसाबले पनि सरकारमा बसिरहन उपयुक्त हुँदैन,” ठाकुरले कार्यकर्तामाझ भने, “हामी अब सरकारबाट तत्कालै बाहिरिन्छौँ ।”

अहिलेको सरकारमा लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन् । अध्यक्ष ठाकुरले आज सर्लाही आएर पार्टीले सरकार छाड्ने घोषणा गरेसँगै सिंहको २० औँ पटक बनेको मन्त्रीको पद गुम्ने भएको छ ।

सरकारले ल्याएको भूमिसम्वन्धी अध्यादेशले वनजङ्गलको विनाश झनै बढ्ने देखेपछि पार्टीले समर्थन जनाउन नसकेको लोसपाले हिजो नै विज्ञप्ती जारी गर्दै प्रष्ट पारिसकेको छ । मलङ्गवामा कार्यकर्तालाई सम्वोधन गर्दै पार्टी अध्यक्ष ठाकुरले वन फडानी र अवैद्य कब्जा रोक्न भूमिसम्वन्धी अध्यादेशको विपक्षमा उभिएको बताए ।

लोसपाका अध्यक्ष ठाकुरले पछिल्ला वर्षमा तराईक्षेत्र मरुभूमिकरणतर्फ उन्मुख भएको र खानेपानीको व्यापक समस्या बढिरहेकाले वनको संरक्षण गर्ने किसिमको योजना अघि बढाउन सरकारसँग माग गरेका छन् । उनले आज नै गोडैता, बलरालगायतका स्थानमा पार्टीका नेता, कार्यकर्तासँग भेट गरेका छन् ।