ब्रह्मपुरी, २८ माघ – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सिँचाईका लागि गरिएको कृषि विद्युतीकरण लामो समयदेखि अलपत्र रहँदा किसान मारमा परेका छन् ।
गाउँपालिकाले खेतखेतमा पोल गाड्ने, तार टाङ्ने र ट्रान्सफर्मर जडानको काम पूरा गरेको छ । बिजुली जोड्न मात्रै बाँकी रहँदा किसानले कृषि विद्युतीकरणको उपयोग गर्न पाएका छैनन् । गाउँपालिका कार्यालय र नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्र दोषारोपणमा लाग्दा कृषि विद्युतीकरणको काम अलपत्र परेको हो ।
कुलो तथा नहरको सुविधा नरहेको ब्रह्मपुरी गाउँपालिकाका किसान कृषि विद्युतीकरण सञ्चालन भए सिँचाई सुविधा पाउने आशमा बसेका छन् । ब्रह्मपुरी गाउँपालिका–६, का किसान फकिरा रायले सिँचाईको व्यवस्था नहुँदा आकाशे पानीको भरमा एक बाली मात्रै उब्जनी हुने गरेको गुनासो गरेका छन् । “पानी नभएर खेती लगाउन सारै समस्या छ, आकाशे वर्षाले एक बाली मात्रै फल्छ” रायले भने “चाँडो विद्युत् चालू होस् भनेर कामना गरिरहेका छौँ ।”
तीन बिघा जग्गा रहेको रायले कृषि विद्युतीकरण संचालन भएपछि मोटर राखेर सहजरुपमा खेती गर्ने आशमा बसेको बताए । गाउँपालिकाको योजना र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट ब्रह्मपुरी गाउँपालिकामा पाँचवर्ष अघिदेखि नै कृषि विद्युतीकरण गर्न सूरु गरिएको थियो ।
ब्रह्मपुरी गाउँपालिका–७, का पूर्व वडाध्यक्ष समेत रहेका किसान श्यामसुन्दर यादवले एकातर्फ वर्षेनि खडेरी बढ्दै जान थालेको र अर्कोतर्फ करोडौँ खर्चिएको कृषि विद्युतीकरण संचालन नहुँदा मारमा परेको बताएका छन् । “गाउँपालिकाका ९५ प्रतिसत नागरिक कृषि पेशामै आवद्ध छन् तर एक झर पानी परेन भने कुनैपनि बाली उब्जने अवस्था छैन, यादवले भने ।”
आठ बिघा जग्गा रहेको यादवले बिजुलीको प्रवन्ध भए ट्यूबेल जडान गरेर वर्षमा तीन बाली फलाउने योजना रहेको बताए । ब्रह्मपुरी गाउँपालिका आफैले टेण्डर आब्हान गरी ठेकेदारमार्फत कृषि विद्युतीकरणको काम गराएको हो ।
गाउँपालिका अध्यक्ष रामपदारथ साह तेलीले नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रबाट पोल र तारको गुुणस्तर जाँच गरेपछि मात्रै बिजुली जोडिदिने भन्दै बहानाबाजी गर्ने काम भइरहेको बताए । “गाउँपालिकाले आफ्नो बजेटले भ्याएसम्म किसानको खेतखेतमा विद्युतीकरण गरेको छ तर प्राधिकरणले पोल र तारको परीक्षण गर्नुपर्छ भन्दै ‘लाइन’ जोड्नै मानिरहेको छैन्,” अध्यक्ष साहले भने, “प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई समेत भेटेर समस्या सुुनाएँ तर समाधान हुन सकेको छैन् ।”
प्राधिकरणले विद्युत् सप्लाई गर्न साथ दिए ब्रह्मपुरी गाउँपालिका कृषितर्फ सर्लाहीमै नमूना बन्ने अध्यक्ष साहको भनाई छ । उनका अनुसार गाउँपालिकाभित्र कृषि विद्युतीकरणमा करिव पाँच करोड रुपैयाँ खर्च भइसकेको छ ।
विद्युत्बाट सिँचाई पुुग्दा किसानले तीन बाली उब्जाउने र कृषि क्षेत्रमा क्रान्ति आउने अवस्था भएपनि प्राधिकरणले विभिन्न प्राविधिक उल्झन निकालेर समस्या सिर्जना गरेको गाउँपालिका अध्यक्ष साहको गुनासो छ । नेपाल विद्युत् प्राधिकरण मलङ्गवाका वितरण केन्द्रका प्रमुख उमेश यादवले पालिकाले आफ्नो बजेटबाट टेण्डरमार्फत विद्युतीकरणको काम गरेको र प्राधिकरणबाट सुपरीवेक्षण नभएसम्म बिजुली छाड्न नमिल्ने प्रष्ट पारेका छन् । यादवले भने–“प्राधिकरणको प्रावधान अनुसार पालिकाले सुरुमा मिटर लिनुुप¥र्यो र त्यसपछि हामीले पोल, तारको सुपरिवेक्षण गरेर मात्रै नियम अनुसार लाइन चार्जको काम अघि बढाउँछौ ।”
पालिकाले पोल, तार र ट्रान्सफर्मर खरिद गरेको कागजातसहितको विवरण खुलाएर निवेदन दिएपछि प्राधिकरणले आफ्नो प्राविधिक खटाएर सुपरीवेक्षण अर्थात् लाइन चेकजाँचको काम अघि बढाउने वितरण केन्द्र प्रमुख यादवको भनाई छ । जुन निकायको भएपनि विद्युतीकरणमा नेपाल सरकारको ठूलो लगानी परिसकेकाले काम गर्दाको कागजात दिएर मिटर जडानको काम अघि बढाउन गाउँपालिकालाई भनिरहेको तर पालिकाबाट नै ढिलाई भएको वितरण केन्द्र प्रमुख यादवको आरोप छ ।