नाढीमन, २४ माघ – सर्लाहीमा सरस्वती पूजाको मुर्ति आज तेस्रो दिनमा बल्ल विर्सजन गरेर सकिएको छ ।
माघ २१ गते गरिएको सरस्वती पूजाको मुर्ति अधिकांश ठाउँमा भोलीपल्टै विर्सजन गरिएको थियो । तर केही ठाउँमा भने तीन दिन लगाएर आजसम्ममा मुर्ति विर्सजन कार्य सम्पन्न गरिएको हो । सरस्वती पूजाको मुर्ति विर्सजन गर्न लैजाँदा कतिपय ठाउँमा भने प्रहरीले सुरक्षा पहरा नै दिनुपर्ने स्थिति छ ।
अघिल्ला वर्षहरुमा विवाद भएका ठाउँमा प्रहरीले सुरक्षा दिएरै मुर्ति विर्सजन कार्य गराएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज नाढीमन ताल र हरिपूर्वामा मुर्ति विर्सजन भएसँगै जिल्लाभर यस वर्षको सरस्वती पूजाको मुर्ति विर्सजन कार्य सम्पन्न भएको हो ।
तीन दिनसम्म निरन्तर सुरक्षा पहरा दिइरहनु पर्दा प्रहरीलाई समेत सुरक्षाको हिसाबले टाउको दुखाई बन्यो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले जिल्लाका सबैठाउँका विद्यालय तथा चोक, चौरमा गरिएको सरस्वती पूजाको मुर्ति आजबाट विर्सजन गरेर सकिएको बताए । उनका अनुसार संवेदनशील ठाउँमा प्रहरी तैनाथ गरी मुर्ति विर्सजन कार्य गरिएकाले कुनै किसिमको विवाद सिर्जना हुन पाएन् ।
कतिपय सामाजिक अगुवाले सरस्वती पूजाको मुर्ति विर्सजनका क्रममा विकृति सिर्जना हुने किसिमले अस्वभनीय नृत्य तथा गीत, संगीत प्रस्तुत हुन थालेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।