बयलवास, २४ माघ – सर्लाहीको क्षेत्र नं. १ मा जसपा नेपालको सिंगो कमिटीले ने राजिनामा दिएको छ ।
केही दिनअघि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिनुुभएका पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहको अगुुवाईमा हिजो जसपा नेपालको क्षेत्र नं. १ कमिटीका सबै पदाधिकारी र सदस्यहरुले सामूहिक राजिनामाको घोषणा गरेका हुन् । क्षेत्रीय कमिटीका अध्यक्ष रामनरेश साहसहित ५६ सदस्यीय कमिटीले राजिनामा दिएको उल्लेख गरिएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव स्वेच्छाचारी र आफूखुसी चलेकाले अब जसपा नेपालमा बस्न नसकिने निष्कर्ष निकालेर सबैले एकैसाथ राजिनामाको घोषणा गरेको क्षेत्रीय कमिटी अध्यक्ष साहले बताए । क्षेत्र नं. १ (क) का अध्यक्ष रामचन्द्र महतो नेतृत्वको टोलीले पनि सामूहिक राजिनामा दिएको छ ।
त्यसैगरी ईश्वरपुर नगर कमिटीमा अध्यक्षबाहेक अरु ३१ सदस्य तथा पदाधिकारीले राजिनामाको घोषणा गरेका छन् । जिल्ला उपाध्यक्ष साविर मिकरानी, जिल्ला सदस्य अमिरीलाल साह, महिला जिल्ला संघका अध्यक्ष रमिता महतोलगायतको समेत राजिनामा आएको छ ।
सर्लाहीमा यसअघि जसपा नेपालका जिल्ला कमिटी अध्यक्ष वीरेन्द्र रायले समेत पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी छाडेका सबैले अब एकैसाथ अर्को कुनै दलमा प्रवेश गर्ने तयारी गरेको बताइएको छ ।