धनकौल, २२ माघ – सर्लाहीको धनकौल गाउँपालिका–२, सहनी टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्युु भएको छ ।
धनकौलस्थित अन्नपूर्ण चिनी मिलमा उखुु ‘अनलोड’ गरेर फर्किएको प्रदेश २–०३–००१ त ३०७१ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पोखरीमा खस्दा चालकको मृत्युु भएको हो । आज बिहान गाउँको पोखरीभित्र ट्रलीसहितको ट्याक्टर डुबिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
प्रहरी पुुगेर ट्याक्टर निकाल्नेक्रममा अन्दाजी २६ वर्षीय चालक ट्याक्टरले च्यापिएको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम थापाले जानकारी दिए । थापाका अनुसार मृतक चालकको परिचय खुल्न सकेको छैन् ।
मृतक भारतीय नागरिक रहेको आशङ्का गरिएको छ । ट्याक्टरधनी सर्लाहीकै बलरा नगरपालिकाको अर्नाह गाउँका रहेको बुझिएको र ट्याक्टरधनी मोवाइल ‘स्वीच अफ’ गरेर सम्पर्कविहीन रहेकाले मृतक चालकको सनाखत हुन नसकेको डिएसपी थापाले उज्यालो अभियानसँग बताए ।
प्रहरीले मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ । मृतक चालकको पहिचान खुलाउन र ट्याक्टरधनीको खोजी गर्न बलराबाट स्थानीय प्रहरी परिचालन गरिएको छ ।