logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विवाहको उमेर नघटाउन माग


  • उज्यालो अभियान

मलंगवा, १८ माघ – सर्लाहीका मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाले विवाहको उमेर नघटाउन माग गरेका छन् ।

विवाहको उमेर २० वर्ष पुगेको हुनुपर्ने कानूनी व्यवस्था कार्यान्वयनमा समस्या भएको भन्दै सो उमेरलाई घटाएर १८ वर्ष बनाउन लागिएको भन्ने चर्चाकाबिच यहाँका मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाले अहिलेकै व्यवस्था उपयुक्त हुने भन्दै आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुुन् । विवाहको उमेर घटाउन चालिएको कदमको विरोधमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भेटेर उनीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए ।

मुलुकी देवानी संहिता–२०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिवानाको सजाय तोकिएको छ ।

यही व्यवस्था रहीरहन दिन माग गरिएको सर्लाहीका महिला अधिकारकर्मी लक्ष्मी सिंह दनुवारले बताईन् ।

ज्ञापन पत्र बुझाउन पुुगेका मानव अधिकारकर्मी र नागरिक समाजका अगुुवाले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई जिल्लाका स्थानीयले लामो समयदेखि भोग्दै आएको विभिन्न समस्याबारे ध्यानाकर्षण गराएका छन् ।

हुलाकी राजमार्गको मलङ्गवा खण्डको पूर्णता, मलङ्गवाको नवनिर्मित बसपार्क सञ्चालन, सडक अतिक्रमण, नाला निर्माण, सरसफाईलगायतको विषयमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई ध्यानाकर्षण गराइएको नागरिक समाजका महासचिव चौधरीले बताए ।