लालबन्दी, १८ माघ – जिल्ला भूमि अधिकार मन्च सर्लाहीले आज २ बुुँदे माग तथा ध्यानाकर्षणसहित डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
मन्चकी जिल्ला अध्यक्ष भवानी घिमिरेको नेतृत्वमा भूमिअधिकारकर्मीले लालबन्दीस्थित डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुुझाएका हुन् । मन्चले भूमिहीन एवं अव्यवस्थित बसोवासीले वर्षौदेखि आवाद् कमोत् गर्दै आएका जग्गाबाट उठीवास नगर्न/नगराउन अनुरोध गरेको छ ।
त्यस्तै सागरनाथ वन विकास परियोजनाको जग्गामा बसोवास गरेका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या भूमि आयोग, स्थानीय तह तथा सरोकारवालासँग छलफल गरी आम सहमति बिना कुनै पनि कार्य नगर्न पनि ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।
बागमतीमा सागरनाथ वन विकास परियोजनाको जग्गामा घर बनाएर बसेका व्यक्तिलाई उठाउन लागिएको चर्चाकाबिच भूमि अधिकार मन्चले आज डिभिजन वन कार्यालयमा डिभिजन प्रमुखलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको हो ।