प्रतिकात्मक तस्बीर ।
बयलवास, १८ माघ -सर्लाहीको ईश्वरपुर नगरपालिका–७, बयलवासस्थित ब्रम्हस्थानमा रहेको एक प्लाष्टिकको झोला बनाउने उद्योगमा आगलागी भएर क्षति पुुगेको छ ।
स्थानीय नेत्रबहादुर कार्कीको घरमा भाडा गरी चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल बस्ने रामछबिला साहले संचालन गरेको हिमालयन पोलि नेपाल (प्लाष्टिकको झोला बनाउने उद्योग) मा आगलागी भएको हो । आज बिहान ३ बजेपछि सुरु भएको आगलागी झण्डै दुुई घण्टापछि स्थानीय, सुरक्षाकर्मी र हरिवन तथा मलंगवा नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको भनिएकोबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । आगलागीबाट उद्योगभित्र रहेको विभिन्न मेसिन, कच्चा पदार्थ र घर पूर्णरुपमा जलेर क्षति पुुगेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । उनका अनुसार आगलागीबाट छिमेकी नवलकिशोर साहको घरमा समेत आंशिक क्षति पुुगेको छ ।