logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमती पुलको निरीक्षण, तत्काल डाइभर्सन बनाएर पुल मर्मत गरिने


  • उज्यालो अभियान

बागमती, १७ माघ – बिम चर्किएर जोखिमयुक्त बनेको सर्लाही र रौतहटलाई जोड्ने बागमती पुल तत्काल मर्मत गरिने भएको छ ।

पुलको हिजो दिउँसो सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ र रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा दुवै जिल्लाका सुरक्षा प्रमुख, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख तथा प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । पुलको स्टिल बिम चर्किएर अकल्पनिय दुर्घटनाको जोखिम बढेको भनी उज्यालो अभियानसहित अन्य सञ्चारमाध्यमबाट बारम्बार समाचार प्रशारण तथा प्रकाशन भएपश्चात सरोकारवाला निकायको टोलीले जिर्ण पुलको स्थलगत निरीक्षण गरेको हो ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका डिभिजन प्रमुख सि.डि.ई. अनिलकुमार लाल कर्णले बागमती खोलाको पुल तत्काल मर्मत गर्न पहल भइरहेको उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार पुलको निरीक्षणका लागि एक/दुुई दिनभित्रैमा काठमाडौँस्थित पुल महाशाखाको प्राविधिक टोली समेत आउँदै छ ।

उक्त टोली आएर पुलको मर्मत के–कसरी गर्ने भनी निक्र्यौल गर्नासाथ डाइभर्सन निर्माण गरेर त्यहाँबाट सवारी साधन सञ्चालन गरी पुलबाट आवातजावत बन्द गरिने छ । बिम चर्किएर पुल थोरै भास्सिएको जस्तो देखिएकाले त्यसलाई प्राविधिककै सल्लाहबमोजिम मर्मतको काम अघि बढाइने सडक डिभिजन प्रमुख कर्णको भनाई छ ।

५५ वर्षअघि नै निर्माण भएको बागमतीको पुलमा वर्षेनिजसो खाल्डाखुल्डी पर्ने र त्यसलाई टालटुल पार्ने काम हुँदै आएको छ । यो पटक भने पुलको बिम नै चर्किएपछि पुलबाट सवारी आवतजावत नै रोकेर मर्मतको काम अघि बढाउनुपर्ने भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पुलको दक्षिणी भेगतर्फबाट डाइभर्सन निर्माण गरेर वा अन्य कुनै विकल्प अपनाएर सवारी साधन वारपार गराई पुल मर्मतको काम अघि बढाउने गरी समन्वय भइरहेको उज्यालो अभियानसँग बताए ।