दीपक शाशंकर/उज्यालो अभियान
परवानीपुर, १७ माघ – वैदेशिक रोजगारीमा रहेका युवा र स्थानीय मनकारी युवाको सहयोगमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरामा टुहुरा दुई बालबालिकालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ ।
लालबन्दी १५ कै चिसापानीमा जिर्ण घरमा बसोवास गर्ने १३ वर्षीया सुमिना वाइवा र उनको भाई सात वर्षका सुमित वाइवाको लागि झरझरामा जस्ताले छाएको दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । सुमिना र सुमितका बुवा भोजबहादुर वाइवाको प्राणघातक रोग क्यान्सरबाट दुई वर्षअघि निधन भएको थियो । उनीहरुका आमा एक वर्षअघि वैदेशिक रोजगारीमा गएदेखि सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् ।
सहाराविहीन बनेका बालबालिकालाई तीन लाख २५ हजार ६०० रुपियाँ लागतमा पक्की घर निर्माण गरेर आज एक कार्यक्रमकाबिच लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलको रोहबरमा हस्तान्तरण गरिएको हो । सुमिना र सुमितको घर निर्माणका लागि लालबन्दी नगरपालिका–१६, परवानीपुरका राजु थापा र सरोजकुमार खड्काले पाँचधुर जग्गा, गैरआवासिय नेपाली सङ्घ (जापान) मा आवद्ध युवाले दुुई लाख रुपियाँ, लालबन्दी नगरपालिका–१२, लालभित्तीका उमेश थोकरले ५२ हजार रुपियाँ बराबरको झ्याल, ढोका र उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले झ्यालमा लाग्ने ग्रिल सहयोग गरेका छन् ।
अन्य दुई दर्जन युवाले पनि घर निर्माणमा सकेको आर्थिक सहयोग गरेका छन् । साहाराविहीन सुमिना र सुमितका लागि लालबन्दी १५ कै अमृतबहादुर वाइवा र बिक्रम खड्काले पहल गरेर पक्की घर निर्माण गराइदिएका हुन् ।
आवास हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हेमबहादुर कार्की, वडा अध्यक्षका प्रत्यासी उद्धव मोक्तान, वडा अध्यक्षका अर्का प्रत्यासी सुुबलाल बोम्जन, उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी, लालबन्दी १० चन्द्रपुर निवासी समाजसेवी उदय पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।