बागमती, १६ माघ – नेकपा माओवादी केन्द्र सर्लाहीले आजदेखि गर्ने भनिएको जिल्ला बन्दसहितको कार्यक्रम तत्काललाई स्थगित गरेको छ ।
आफ्ना पार्टीबाट निर्वाचित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमार मुक्तानलाई झुटा वन मुद्दा लगाउने षडयन्त्र भएको भन्दै माओवादी केन्द्र सर्लाही चरणवद्ध आन्दोलनमा उत्रिएको थियो । पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्लेले गएराति प्रेस विज्ञप्ती जारी गरी माघ १६ गतेदेखि घोषणा गरिएका सङ्घर्षका सम्पूर्ण कार्यक्रम शहीद दिवस र तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जानकारी गराएका छन् ।

प्रेस विज्ञप्तीमा राज्यद्वारा दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई हटाउने र झुटा वन मुद्दा लगाउने षडयन्त्र गरिएकामा पुनः सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ । सङ्घीय तथा प्रदेशको वन मन्त्रालयबाट बागमतीस्थित निर्माणधीन बागमती माछा पोखरी (भरत ताल) निर्माण गरिएको जग्गा र आसपास बस्ती बसालिएको क्षेत्र सागरनाथ वन विकास परियोजनाको जग्गा पर्ने÷नपर्ने भनी अनुसन्धान गरी यदि वनको जग्गा भए वन मुद्दा अघि बढाउन डिभिजन वन कार्यालयलाई पत्र प्राप्त भएपछि माओवादी केन्द्र सर्लाहीले चरणवद्ध आन्दोलन सुरु गरेको थियो ।
सो पार्टीले हिजो मात्रै बागमतीस्थित पुतली चोकमा ठूलो सङ्ख्यामा नेता, कार्यकर्ता उतारेर राजमार्ग बन्द र खबरदारी सभा सम्पन्न गरेको थियो । जिल्ला इन्चार्ज काफ्लेले निकालेको विज्ञप्तीमा माघ १३ गतेदेखि १५ गतेसम्मको चरणवद्ध आन्दोलन सशक्त रुपमा सम्पन्न भएको उल्लेख गरिएको छ ।
आन्दोलनलाई शान्तिपूर्ण रुपमा सफल बनाइदिने पार्टी कार्यकर्ता, सहयोगी र सुरक्षाकर्मीप्रति धन्यवाद् ज्ञापन गरिएको छ । माओवादी केन्द्रले राजमार्ग केन्द्रीत आन्दोलन सुरु गरेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
राजमार्ग बन्दसम्मको कार्यक्रम हुन थालेपछि नेपाल प्रहरीले बन्दकर्तालाई सडकबाट हटाउन जिल्लामा पहिलो पटक पानीको फोहोरा फाल्ने गाडी समेत झिकाएको थियो ।
माओवादी केन्द्रको आन्दोलनले सर्लाहीमा केही दिनदेखि पूर्व पश्चिम राजमार्गमा सवारी आवागमनमा प्रभाव पारिरहेको थियो ।