बागमती, १६ माघ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती पुलको स्टिल बिम चर्किएको छ ।
५५ वर्ष पुरानो पुलको स्टिल बिम अर्थात्् ‘गिर्डर’ चर्किएर जोखिमपूर्ण अवस्था सिर्जना भएको हो । पुलको पूर्वतर्फ सात नम्वरको स्परमाथि जडान गरिएको बिम करिव आठ सेन्टिमिटर चर्किएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवले जानकारी दिए ।
बिम चर्किएर सवारी साधन सञ्चालनमै समस्या आउने स्थिति पैदा भएको उनले बताए । अब पनि पुलमा एकैपटक धेरै मालवाहक सवारी गुडाइरहे जोखिम निम्तने इन्जिनियर यादवको भनाई छ ।
पुलमाथिबाट एक पटकमा एउटा मात्रै सवारी साधन सञ्चालनको व्यवस्था मिलाइदिन माग गर्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सर्लाही र रौतहट दुवैतर्फका प्रहरीलाई पत्राचार नै गरेर सहयोग मागेको छ । प्रहरी स्रोतले भने पुलको स्थितिबारे सडक डिभिजन कार्यालयले कुनै पत्र नपठाएको जनाएको छ ।
अहिले पनि जोखिमपूर्ण पुलबाट एकैपटक तीन/चारवटासम्म सवारी साधन वारपार गरिरहेका छन् । पुलको बिम चर्किएकोबारे काठमाडौँस्थित पुल महाशाखालाई समेत जानकारी गराइसकिएको सडक डिभिजन कार्यालयका इन्जिनियर यादवले बताए ।
बारम्बार भत्किएर टाल्ने काम गरिँदै आएको बागमती पुलमा अहिले बिम नै चर्किएपछि यात्रु तथा सवारी चालकले जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । बागमती नगरपालिका–११, का स्थानीय भिमशेन थापाले पुलको बिम तत्काल मर्मत नगरिए अकल्पनिय दुर्घटनाको जोखिम देखिएको बताए ।
पुल जिर्ण बनेकोबारे सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई लामो समयदेखि ताकेता गर्दा पनि सुनुवाई नभएको स्थानीयले आरोप लगाएका छन् । अहिले पुलको बिम नै चर्किएको धेरै दिन भइसक्दा पनि वास्ता नगरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।