logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वा सवस्टेशन संचालन हुन सकेन, लोड दिन मात्रै बाँकी


  • उज्यालो अभियान

हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा, १५ माघ – दुई महिनाअघि नै चार्ज गरिएको सर्लाहीको हरिपूर्वास्थित विद्युत् सवस्टेशन सञ्चालनमा ढिलाई भएको छ ।

गत मङ्सिर पहिलो साता सवस्टेशनको ट्रान्सफर्मर चार्ज गरिएको थियो । हरिपूर्वा र ईश्वरपुर क्षेत्रमा बिजुलीको पोल गाड्नेक्रममा विवाद भएपछि सवस्टेशन निर्माण भएको दुुई वर्षसम्म अलपत्र रह्यो ।
दशैँअघि विवाद सल्टाएर ईश्वरपुर नगरपालिकाको महारानी बजार क्षेत्र र हरिपूर्वा नगरपालिकाको हरिपूर्वा बजार क्षेत्रमा पोल गाड्ने काम गरिएको थियो । त्यसपश्चात मङ्सिर पहिलो साता नै सवस्टेशन भित्रको समेत सम्पूर्ण काम पूरा गरेर चार्ज पनि भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका इलेक्ट्रिकल फोरम्यान मौजे पण्डितले सवस्टेशनबाट अब ‘लोड’ दिन मात्रै बाँकी रहेको बताउनुुभयो । सवस्टेशनमा ‘लोड’ दिने तथा ठेकेदारले सम्पन्न गरिसकेका कामको भुक्तानीका लागि आगामी आइतबार ठेकेदारलाई कार्यालयमै बोलाइएको पण्डितले बताए ।

योबिचमा प्राधिकरणको क्षेत्रीय निर्देशक परिवर्तन भएकाले पनि हरिपूर्वाको विद्युत् सवस्टेशन सञ्चालनमा बिलम्ब हुन पुुगेको प्राधिकरणका कर्मचारीले बताएका छन् । इलेक्ट्रिकल फोरम्यान पण्डितले अबको हप्ता, दश दिनभित्रमा हरिपूर्वा सवस्टेशनमा लोड दिएर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

अनियमित विद्युत् कटौतिको समस्या झेल्दै आएका हरिपूर्वाका स्थानीय आफ्नो ठाउँमा निर्माण भएको सवस्टेशन सञ्चालनको पर्खाइमा बसेका छन् । सदरमुकाम मलङ्गवाबाट लामो दुरीको प्रशारण लाइन हुँदै ल्याइएको विद्युत् असाध्य अनियमित हुने र घण्टौँसम्म बिजुली अवरुद्ध हुने समस्याले हरिपूर्वावासी हैरान बनिरहेका छन् ।

मलङ्गवादेखि बिजुली छाड्दा असाध्य समस्या परेको भन्दै प्राधिकरणले हरिपूर्वा, चन्द्रनगर, पर्सा, ईश्वरपुरलगायत जिल्लाको दक्षिण–पूर्वी भेगका स्थानीयलाई सहज र भरपर्दोरुपमा विद्युत् आपूर्ति गर्न हरिपूर्वामा विद्युत् सवस्टेशन तयार पारेको हो । पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सवस्टेशनमा पु¥याइएको छ ।

सवस्टेशनबाट ११ केभीको दुईवटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी छ ।