logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

माओवादी केन्द्रले आन्दोलन चर्कायो, चक्काजाम र खबरदारी सभा सम्पन्न


  • उज्यालो अभियान

बागमती, १५ माघ – नेकपा माओवादी केन्द्र सर्लाहीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा आज विरोध प्रदर्शन गरेको छ ।

आफ्ना पार्टीका नेता तथा बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायतलाई षडयन्त्रपूर्वक वन मुद्दा दायर गर्न लागिएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको माओवादी केन्द्र सर्लाहीले आज दिउँसो बागमतीस्थित पुतलीचोकमा प्रदर्शन गरेको हो । सो पार्टीले जिल्लाभरबाट ठूलो सङ्ख्यामा कार्यकर्ता उतारेर राजमार्गमा चक्काजाम र खबरदारी सभा गरेको हो ।

खबरदारी सभालाई पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल, जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामा, नेताहरु पल्हाद बुढाथोकी, समिर भट्टराई, जवाहारलाल कुशवाहा, राजकुमार यादव, देवानन्द महतोलगायतले सम्वोधन गर्दै राजनीतिक पूूर्वाग्रह र षडयन्त्रपूर्ण ढङ्गले नगरप्रमुख, उपप्रमुखलगायतविरुद्ध वन मुद्दा दायर गर्ने तयारी भएको भन्दै यस कार्यको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

बागमती नगरपालिकास्थित निर्माणाधीन बागमती माछापोखरी (भरत ताल) निर्माण गर्दा र आसपास बस्ती बसाउँदा सागरनाथ वन विकास परियोजनाको जग्गा मिचिएको भन्दै वन कार्यालयले अनुसन्धान थालेपछि माओवादी केन्द्र सर्लाही आन्दोलित बनेको हो । आन्दोलनको कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले आइतबार लालबन्दीस्थित वन कार्यालय घेराऊ र सोमवार साँझ जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेको थियो । भोली बुधबारदेखि अनिश्चितकालिन जिल्ला बन्दको आह्वान गरिएको माओवादी केन्द्रका नेता अर्जुन पन्तले उज्यालो अभियानसँग बताए ।

माओवादी केन्द्रले आन्दोलन चर्काएपछि जिल्लाका सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् । माओवादीले विरोध प्रदर्शन गरिरहेको हरेक कार्यक्रममा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गर्ने गरिएको छ ।

oppo_0

आज बागमतीमा भएको राजमार्ग बन्द तथा कोणसभालाई लक्षित गरी ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रदेश प्रहरी कार्यालयबाट पानीको फोहोरा फाल्ने गाडीसम्म मगाइएको थियो ।

चरणवद्ध आन्दोलनमा रहेको माओवादी केन्द्रको विरोध प्रदर्शनका कारण सर्लाहीमा पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन भने प्रभावित बन्न थालेको छ ।