हरिवन, १४ फागुन – हरिवन नगरपालिका ८ चापिनीस्थित चुरे जनता आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गरिएको छ ।
पूर्व रक्षा मन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का सांसद् हरि उप्रेतीले सोमबार बिहान एक समारोहबीच भवनको शिलान्यास गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर उप्रेती (दिपक) को अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले नेता समेत रहेका पूर्व मधेश प्रदेश सांसद डिल्ली प्रसाद उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, वडा नम्बर ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, नेकपा शएकीकृत समाजवादीका नेता भरत कुमार कार्की, विद्यालयका प्रधानाध्यापक डिल्लीराम भट्टराई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम तथा चुरे प्रावि तेक्वान्दो डोजाङका खेलाडीले कलाकौशल प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उप्रेतीका अनुसार शहरी बिकास मन्त्रालय अन्तर्गत सघन सहरी कार्यालय जनकपुरबाट प्राप्त एक करोड बजेट अन्तर्गत ५६ लाख रुपैंयामा सैलि कन्ट्रक्सन सङम बस्ति ४ नागर्जुन काठमाडौंले सकार गरेर २०८२ जेठ महिना भित्र दुइ तले भवन अन्तर्गत तल्लो तलामा दुइ कोठा तथा माथि एउटा सभाहल निर्माण गर्नु पर्नेछ ।