हरिपुर, १३ माघ – सर्लाहीका केही स्थानीय तहलाई प्रमुख प्रशासकीय अधिकृतको अभावमा योजना सन्चालन गर्न समस्या परेको छ ।
प्रमुख प्रशासकीय अधिकृतको रिक्तताका कारण पालिकाले महिनौँदेखि सामाजिक सुरक्षा भत्ता र शिक्षक, कर्मचारीको तलब निकासा गर्न पाएका छैनन् । तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको हरिपुर नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बल्ल नगरपालिकामै कार्यरत आठौँ तहका शाखा अधिकृत विनय पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।
मन्त्रालयले शुक्रबार पठाएको पत्रमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाखा अधिकृत पौडेललाई आर्थिक अधिकारसहितको जिम्मेवारी प्रदान गरिएको भनी उल्लेख रहेको नगरप्रमुख गोपाल पजियारले जानकारी दिए । मन्त्रालयमा बारम्बार धाउँदा तीन महिनासम्म प्रमुख प्रशासकीय अधिकृत नपठाइएको नगरप्रमुख पजियारको दुखेसो छ ।
उनले पालिकामै कार्यरत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त भएसँगै अब सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायत नगरपालिका मातहतका सम्पूर्ण कर्मचारीको तलब निकासा र योजना सम्झौता तथा कार्यान्वयनको बाटो खुलेको उज्यालो अभियानलाई सुनाए ।
पजियारले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ल्याउनै मुस्किल पर्ने र मन्त्री, सचिवलाई भेट्दा समेत कुनै उपाय नलाग्ने गरेको गुनासो पोखेका छन् । हरिपुरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत उपसचिव ओमप्रकाश महतो सरुवा भएर गएदेखि मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको थिएन ।
यस्तै उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीको हरिवन नगरपालिकामा पनि केही साताअघि पालिकामै कार्यरत लेखा प्रमुख प्रतीक कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । दशैँताका उपसचिव देवेन्द्र सापकोटा सरुवा भएर गएदेखि नयाँ उपसचिव नपठाइएपछि हरिवनका जनप्रतिनिधिबाट बारम्बार भएको पहलपछि मन्त्रालयले पालिकाकै लेखा प्रमुखलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।
कार्कीलाई आर्थिक अधिकारसहितको जिम्मेवारी दिइएपछि लामो समयदेखि रोकिएको तलब, भत्ता निकासाको काम सम्पन्न गरेर योजनाका काम अघि बढेको हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले बताए । कार्कीलाई जिम्मेवारी दिएपछि मन्त्रालयले हरिपुरबाट तीन महिनाअघि सरुवा भएर गएका उपसचिव ओमप्रकाश महतोलाई हरिवनमा पठाए पनि हरिवनका जनप्रतिनिधिले महतोलाई हाजिर नगराउने भनी मन्त्रालयलाई जानकारी दिएका छन् ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा छ । उपसचिव हरिलाल पुरी सरुवा भएर गएदेखि मन्त्रालयले बागमतीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन् ।
नगरप्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मोक्तान भ्रष्टाचारको मुद्दा दायर भएर निलम्बनमा परेपछि बागमतीमा ज्येष्ठताका आधारमा वडा नं. ४ का वडाध्यक्ष कृृष्णकुमार लामाले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । कार्यवाहक नगरप्रमुख लामाले मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतका लागि पहल भइरहेको र प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिकसँग जोडिएका सबै काम रोकिन पुुगेको गुनासो पोखे ।
यसैबिच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनअघि निमित्तको जिम्मेवारी खोसेपछि सर्लाहीका थप दुुई पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् ।
ब्रह्मपुरी कार्यपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत उपेन्द्र राउत र धनकौल गाउँपालिकामा कार्यरत कृष्णमोहन प्रसाद साहको जिम्मेवारी खोसिएको हो । राउत स्वास्थ्यको अधिकृत छैठौँ र साह स्वास्थ्यतर्फकै सिनियर अहेब हुन् ।
मन्त्रालयले राउत र साहसहित देशका विभिन्न २३ पालिकामा आर्थिक तथा प्रशासनिक जिम्मेवारी पाएका २३ जना अधिकृतको जिम्मेवारी रद्ध गरेको छ ।
ब्रह्मपुरी र धनकौलका जनप्रतिनिधिलाई प्रमुख प्रशासकीय अधिकृतको चिन्ता सुरु भएको छ ।