logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस सर्लाहीको राजनीति : एक अर्काविरुद्ध कारवाहीको माग राखी केन्द्र गुहार्दै


  • उज्यालो अभियान

मलंगवा, १३ माघ – नेपाली कांग्रेस सर्लाहीमा संस्थापन र इतर पक्षबिचको तित्तता बढ्दै गएको छ ।

दुई गुटका नेताहरु एक–अर्काविरुद्ध कारवाहीको माग गर्दै पालैपालो केन्द्रमा धाएर ज्ञापन पत्र बुझाउने र धर्ना दिने अभियानमा लागेका छन् । संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवा निकटका नेता काठमाडौं पुगेर फर्किएको एक सातापछि इतर पक्ष अर्थात् शेखर कोइराला निकटका नेता अहिले पुनः काठमाडौं पुगेका छन् ।

मनुष्मारा सिँचाई आयोजनाका रुख कटान गरेको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएको भन्दै संस्थापन इतर पक्षले संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदबाटै हटाउन माग गरेको छ । पार्टीका जिल्ला उपसभापति नवीन अधिकारीले पार्टीको बिधानमा अदालतबाट दोषी ठहर भएका व्यक्ति पार्टीको कुनै पनि पदमा रहन नपाउने उल्लेख रहेकाले पार्टी सभापति सिंहलाई तत्काल जिम्मेवारीमुक्त गर्नुपर्ने माग रहेको उज्यालो अभियानसँग बताए ।

पार्टीको केन्द्रीय अनुशासन समितिले विधान अनुसार पार्टी जिल्ला सभापति सिंहलाई पदबाट हटाउने आश्वासन यसअघिकै भेटमा दिएपनि सो कुरा कार्यान्वयन नभएपछि पुनः काठमाडौँ जानुुपरेको जिल्ला उपसभापति अधिकारीले बताएका छन् । इतर पक्षका नेताले जिल्ला सभापतिलाई हटाएर उपसभापति नवीन अधिकारीलाई कार्यवाहक सभापतिको जिम्मेवार दिनुपर्ने माग राख्दै आजबाट ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना समेत सुरु गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै संस्थापन इतर समूह ।

एक साताअघि यसैगरी संस्थापन पक्षका नेताले केन्द्रिय पार्टी कार्यालयमा पुगेर गत निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन लागि परेको भन्दै जिल्ला उपसभापति नवीन अधिकारीलगायत नेतालाई पार्टीबाट निष्काशित गर्न माग गरेका थिए ।

चुनावमा अन्तरघात गरेको ठहर गर्दै अधिकारीलगायतका केही नेतालाई जिल्ला र प्रदेशको अनुशासन समितिले कारवाही गरिसकेकाले केन्द्रीय समितिले पनि कारवाही गर्नुपर्ने माग आफूहरुको रहेको संस्थापन पक्षका नेता तथा पूर्व जिल्ला सभापति नागेन्द्र कुमारले उज्यालो अभियानसँगको कुराकानीमा बताए । उनले जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले आफ्नो मुद्दाको विषयमा सर्वोच्च अदालतमा फैसला पुनराअवलोकनका लागि निवेदन दिएकाले अन्तिम अदालतबाट अन्तिम फैसला नआउन्जेल पद छाड्नुपर्ने अवस्था नै नरहेको बताए ।

पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै संस्थापन पक्ष ।

पार्टीले यसअघि नै अन्तरघात गरेर कारवाही गरेका व्यक्तिले जिल्ला सभापतिलाई कारवाहीको माग गर्नु हास्यास्पद रहेको पूर्व जिल्ला सभापति नागेन्द्र कुमारको भनाई छ ।

एक–अर्काविरुद्ध आरोप लगाई कारवाहीको माग राखेर कांग्रेस सर्लाहीका दुई समूहले काठमाडौं पुगेर पालैपालो शिर्षस्त नेताहरुसँग भेट गरिरहेका छन् ।