मलंगवा, १२ माघ – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले गएराति प्रकाशित गरेको ३७ जना डीएसपीको बढुवा सूचीमा श्रेष्ठको नाम पनि १० औँ स्थानमा रहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता समेत रहेका डीएसपी श्रेष्ठ झण्डै एक वर्षदेखि यहाँ कार्यरत छन् ।
डीएसपीबाट एसपीमा बढुवा गरिएका ३७ जनाकै दरबन्दी तोक्न भने बाँकी नै छ । श्रेष्ठको बढुवासँगै अब सरुवा समेत हुने भएकाले सर्लाहीमा प्रहरी प्रधान कार्यालयले अर्को डीएसपी पठाउने छ ।
अर्को डीएसपी नआउन्जेल जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मध्ये सिनियर इन्स्पेक्टरले सूचना अधिकारी तथा प्रवक्ताको भूमिका निर्वाह गर्ने छन् ।