लालबन्दी, १० माघ – नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखाले आज लालबन्दी ६ स्थित प्रेमज्योति आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानले विद्यालयका विद्यार्थीमार्फत उनीहरुका अभिभावकसमक्ष समेत मुटुलाई के–कसरी स्वस्थ राख्न सकिन्छ भन्ने सचेतना प्रदान गर्न उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्रतिष्ठानकै सदस्य तथा स्वास्थ्यकर्मी पाण्डवराज बरालले मुटु स्वास्थ्यका सम्वन्धमा अभिमुखीकरण गराएका नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखाका उपसभापति विक्रम भण्डारीले जानकारी दिए ।
प्रतिष्ठानको जनचेतनामूलक कार्यक्रम संयोजक भीमबहादुर जर्गा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका सभापति शिवप्रसाद न्यौपाने, सदस्य सुशीलकुमार थपलिया र माधव प्रसाद खरेल, विद्यालयका प्रधानाध्यापक तुलसा गौतमलगायतको आतिथ्यता रहेको थियो ।
प्रतिष्ठानले यसअघि लालबन्दीस्थित नगर अस्पतालमा सरसफाईसहित यस्तै प्रकारको सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।