logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भूमि आयोगका सर्लाही अध्यक्ष विश्वकर्माद्वारा पदभार ग्रहण


  • उज्यालो अभियान

मलंगवा, ०८ माघ – भूमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीका नवनियुक्त अध्यक्ष मदनबहादुर विश्वकर्माले आज पदभार ग्रहण गरेका छन् ।

सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोगका नवनियुक्त जिल्ला अध्यक्ष विश्वकर्माले पदभार ग्रहण गरेका हुन् । जिल्लाको चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथान निवासी विश्वकर्मालाई पुस २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोगको सर्लाही जिल्ला अध्यक्षमा नियुक्त गरेको थियो ।

विश्वकर्मा दुुई दशकदेखि भूमि अधिकार आन्दोलनमा क्रियाशील छन् । जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा आयोजित आयोगका अध्यक्ष विश्वकर्माको पदभार ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य जंगिलाल राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), प्रमुख जिल्ला अधिकारी तुुलसी बहादुर श्रेष्ठ, नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, निमित्त जिल्ला प्रहरी प्रमुख (डीएसपी) दीपक श्रेष्ठ, नापी कार्यालय मलंगवाका प्रमुख विन्देश्वर यादवलगायतको आतिथ्यता रहेको थियो ।

पदभार ग्रहण गर्दै आयोगका नवनियुक्त अध्यक्ष विश्वकर्माले भूमिहिन सुकुम्वासीको लागि आफूू वर्षौदेखि लड्दै आएको र अहिले आयोगको अध्यक्ष पदमा रहेर भूमिहिन, सुुकुम्वासी र अव्यवस्थित बसोवासीको पक्षमा काम गर्न पाउँदा थप उत्साहित रहेको उल्लेख गरेका छन् ।

कार्यक्रमका वक्ताले वन ऐन बाधक बन्दा वर्षौदेखिको प्रयासमा पनि भूमिहिन सुकुम्वासीले जग्गा तथा जग्गाधनी प्रमाण–पूर्जा पाउन नसकेको तितो यर्थात रहेको उल्लेख गर्दै सरकारले भर्खरै जारी गरेको भूमिसम्वन्धी अध्यादेशले समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।