सुनिल ठाकुर- चक्रघट्टा, ०७ माघ – नेपाली सेनाले आज सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका चिसो प्रभावित मुसहर समुदायलाई कम्बल वितरण गरेको छ ।
भैरवीदल गण पाँचकुमारीले पटेर्वाका १३५ घरधुरीलाई न्यानो कम्बल वितरण गरेको हो । प्रत्येक परिवारलाई दुुई÷दुुई थानका दरले कम्बल वितरण गरिएको पाँचकुमारी ब्यारेकले जनाएको छ । गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादव, वडा नं. ७ का वडाध्यक्ष नवीन कुमार यादव र गणकी सेनानी रीता थापाले चिसो प्रभावित अतिविपन्न परिवारलाई कम्बल बितरण गरेका हुन् ।
चिसोबाट कठ्यांग्रिएका व्यक्तिलाई बस्तीमै पुगेर कम्बल वितरण गरिएको भैरवीदल गणका गणपति (प्रमुख सेनानी) सूर्यबहादुर कार्कीले जानकारी दिए । गणले यस अघि कविलासी नगरपालिकाका १०० र लालबन्दी नगरपालिका–४, स्थित मुसहर बस्तीका ११५ परिवारलाई कम्बल वितरण गरेको थियो ।
चिसोमा न्यानो कम्बल पाउँदा खुशी लागेको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका इन्दल माझीले बताए । कम्बलले घरका स–साना बालबालिका तथा वृद्धवृद्धालाई ठूलो सहयोग पुगेको माझीको भनाई छ ।