चन्द्रनगर, ०६ माघ – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आज चन्द्रनगर गाउँपालिका ३ र ४ का ५५ दलित परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
विगत तीन दिनदेखि जिल्लाका विभिन्न पालिकामा चिसोबाट अति प्रभावित दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्ने कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले उज्यालो अभियानसँग बताए । सोहीक्रममा आज चन्द्रनगरका ५५ दलित परिवारलाई एक/एक थान फाइबर सिरक वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष गीतादेवी महतो, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख रामरिजन यादव, चन्द्रनगर ३ का वडाध्यक्ष सीताराम महतोलगायत भएर चिसोबाट कठ्याङग्रिएका दलित परिवारलाई कम्बल वितरण गरेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले शनिबार बलरा नगरपालिका र रामनगर गाउँपालिकाका १५२ परिवार, शुक्रबार पर्सा गाउँपालिकामा ६८ परिवार र बिहीबार विष्णु गाउँपालिकामा ६१ परिवारलाई फाइबर सिरक उपलब्ध गराएको थियो ।
जिल्लाका अन्य पालिकामा पनि चिसोले अतिप्रभावित बनेका परिवारको पालिकासँग विवरण माग गरिएको र विवरण प्राप्त हुनासाथ क्रमशः कम्बल वितरण हुने जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जनाएको छ ।