नवलपुर, १४ पुस – दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सर्लाहीमा ट्राफिक प्रहरीले उखु बोक्ने सवारीमा टल्कने ब्यानर अनिवार्य गरेको छ ।
किसानको खेतदेखि चिनी मिलसम्म उखुु ढुुवानी गर्ने ट्याक्टर र ट्रकमा रातको समयमा टल्कने ब्यानर प्रयोग गर्न अनिवार्य गरिएको हो । ट्राफिक प्रहरीले कडाई गर्न थालेपछि अहिले उखुु लोड गरेर चिनी मिलसम्म पुग्ने सवारीले पछाडि पट्टी ‘सावधान ! उखुु बोकेको सवारी’ लेखिएको टल्कने ब्यानर झुन्ड्याउने गरेका छन् ।
प्रत्येक चिनी मिलसँग समन्वय गरी तयार पारिएको टल्कने ब्यानरमा सवारी साधन चलाउँदा बे्रकिङ अर्थात् ब्रेक लगाउन भ्याउने दुरी कायम गर्न अनुरोध गरिएको छ ।
रातको समयमा उखु बोकेर हिँड्ने ट्रक र ट्याक्टरलाई अन्ध्यारोले गर्दा राम्रोसँग नदेखिने र अर्को गाडी आएर ठोक्किने जोखिम रहेकाले ‘सावधान’ लेखिएको टल्कने ब्यानर अनिवार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक रजोेस घिमिरेले जानकारी दिए ।
इन्स्पेक्टर घिमिरेका अनुसार पूर्व–पश्चिम राजमार्ग तथा अन्य भित्री सडकमा समेत ट्राफिक प्रहरी परिचालन गरेर उखुु ढुवानी गर्ने गाडीले ब्यानर टाङ्गे/नटाङ्गेको हेर्ने र अत्यधिक लोड नबोक्न सम्झाउने काम भइरहेको छ । ट्राफिक प्रहरीले जिल्लाको विभिन्न ठाउँका उखुुु तौल काँटा र चिनी उद्योगमा समेत पुगेर सचेत गराउने, मधुरो नम्बर भइसकेका गाडीमा नम्वर लेख्न लगाउने काममा समेत सहजीकरण गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ट्राफिक प्रहरीको सहयोगमा चिनी मिल आफैले उखु ढुवानी गर्ने गाडीलाई टल्कने ब्यानर उपलब्ध गराउन थालेका छन् । उखु बोकेका गाडीमा अन्य सवारी गएर ठोक्किँदा तराईका जिल्लामा वर्षेनि दुःखद् दुर्घटना हुने गरेका छन् ।
केही दिनअघि जिल्लाको बरहथवा, कविलासी र बाँके जङ्गलमा उखु बोकेका सवारी दुर्घटना भएपनि सामान्य किसिमको क्षति भएको ट्राफिक प्रहरीले जनाएको छ । सर्लाहीमा अहिले पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा उखु बोकेका सवारी बाक्लो मात्रामा हिँडिरहेका छन् ।
ति सवारीले सर्लाहीकै इन्दुशङ्कर चिनी उद्योेग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल, महालक्ष्मी चिनी उद्योग बगदह र महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगरमा उखुु ढुवानी गरिरहेका छन् ।