बसबरिया, ११ पुस – सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो । भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगेर अस्पताल भर्ना गरिएको थियो ।
महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालिन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए ।
मृतक महतोको शव भरतपुरबाट अहिले बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए ।
वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज बिहीबार एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष राम सिंहासन रायले आज गाउँपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने बताए ।