लालबन्दी, १६ मंसिर – मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले राजनीतिक अस्थिरताका कारण छिटोछिटो सरकार फेरिँदा काम गर्न समस्या परेको बताएका छन् ।
सर्लाहीको लालबन्दीमा आज आमसञ्चार प्राधिकरण मधेश प्रदेशले आयोजना गरेको पत्रकारको स्वास्थ्य तथा दुुर्घटना बीमा कार्यान्वयन तथा पत्रकारिता अध्ययन छात्रावृत्ति र प्रोत्साहन मस्यौदामाथि छलफलमा मन्त्री लेखीले सो कुरा बताएका हुन् । नागरिकका अपेक्षा धेरै रहेका तर सरकार नै स्थिर नहुँदा उपलब्धी हुने गरी काम गर्न नसकिएको मन्त्री लेखीको भनाई छ । उनले आफू दुई महिना कानून मन्त्री, डेढ महिना गृह मन्त्री, दुुई महिना शिक्षा मन्त्री र त्यसपछि फेरि विगत तीन महिनादेखि गृह मन्त्री रहेको बताउँदै एउटा मन्त्रालयमा दुई महिनामात्रै बस्दा जनचाहना अनुसार काम गर्न नसकेको उल्लेख गरे ।
कम्तीमा पनि एक वर्ष एउटै मन्त्रालयमा बसेर काम गर्न पाए उपलब्धी हुुने खालका काम गर्न सकिने मन्त्री लेखीको भनाई छ । उनले सचिव, लेखापाललगायतका कर्मचारीको समेत दुुई महिनामै सरुवा हुुँदा थप समस्या पर्ने गरेको गुनासो पोखे ।
प्रदेश सरकारका सञ्चार मन्त्री लेखीले दुई दशकसम्म पत्रकारिता गर्ने पत्रकारलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारका समस्या तथा माग सम्वोधन गराउन संस्थागतरुपमै सरकार प्रमुखसँग भेट गरेर पहल गर्न सुझाव दिए ।
मन्त्री लेखीले फरक प्रसङ्गमा जनकपुुरधामस्थित प्रदेश सरकारका विभिन्न मन्त्रालय अगाडि अत्यधिक फोहोरमैला रहेको र बारम्बार सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत फोहोरमैला हटाउने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले अब बाध्य भएर मन्त्रालय आफैले फोहोरमैला समेत सङ्कलन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुुन्दर यादवले यसअघि कर्मचारी अभावमा पत्रकारको स्वास्थ्य बीमाका लागि विनियोजित रकम खर्च गर्न नसकेको दुुःखेसो पोखे । उनले यो वर्ष प्रदेशभरका एक हजार पत्रकारको स्वास्थ्य बीमा गर्न पुुग्ने बजेट विनियोजन भएको जानकारी दिए ।
प्राधिकरणका अध्यक्ष यादवले अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापनको रकम पाउने व्यवस्था गर्न लागिपरेको बताए । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारले स्वास्थ्य बीमा र पत्रकारिता अध्ययन छात्रावृत्तिको विषयमा आ–आफ्नो सुझाव व्यक्त गरेका छन् ।