सर्लाही जिल्ला अदालत परिसरमा रामबहादुर बम्जन । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा – बलात्कार आरोपित ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेश अनुसार जलेश्वर कारागार चलान गरिएको छ ।
उनलाई भर्खरै जलेश्वर पुर्याइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले बताए । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा आज थुनछेक बहसपछि बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
अदालतको आदेश अनुसार बम्जनलाई आज साँझ महोत्तरीको जलेश्वर कारागार चलान गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले बताए । सर्लाहीमा कारागार नभएकाले बम्जनलाई जलेश्वर कारागार लगिएको हो ।
बम्जनलाई प्रहरीले गएराति मात्रै काठमाडौँबाट सर्लाही ल्याएर आज बिहान जिल्ला अदालतमा पेश गरेको थियो । बम्जनको आज नै बयान लिएर थुनछेक बहस पूरा गरी पुर्पक्षमा कारागारभित्रै राखेर थप अनुसन्धान गर्ने आदेश भएको हो ।
बम्जनको मुद्दामा वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल र प्रतिवादीको तर्फबाट अधिवक्ताहरु डा. कुन्साङ लामा, अजय तामाङ, महनिधी सेडाई, अमृत कुमार लामा र दीलिपकुमार झाले बहस गरे ।
‘लिटिल बुद्ध’ समेत भनेर चिनिएका बम्जनलाई सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटस्थित स्याङ्बो डाँडामा रहेको आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो । ती बालिकालाई बम्जनले २०७३ साल साउन २० गते राति ललाइफकाइ प्रलोभन देखाइ आफू सुत्ने कोठामा लगेर विभिन्न किसिमको डर, त्रास, धाक, धम्की देखाइ बोल्न कराउन नदिइ यौन सन्तुष्टि लिनको लागि जवरजस्ती करणी गरेको र त्यसपछि पनि बालिका एक्लै भएको मौका छोपेर पटक–पटक करणी गरेको दायर मुद्दामा उल्लेख छ ।
घटना भएको बेला बालिका १५ वर्षको मात्रै थिईन् । उनी १८ वर्ष भएपछि २०७६ साल माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो । सर्लाही जिल्ला अदालतले सोही दिन बम्जनलाई पक्राउ गर्न अनुमती दिएको थियो । बम्जन फरार रहेपछि सरकारी वकिलको कार्यालय सर्लाहीले २०७७ साल असार १८ गते सर्लाही जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।
बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको माग दाबीसहित अभियोग दर्ता भएको छ । विभिन्न जिल्लाहरुमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा वेपत्ता पारेको आरोप लागेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मङ्गलबार साँझ काठमाडौँको बुढानिलकण्ठ नगरपालिक–६, स्थित निवासबाट पक्राउ गरेको थियो ।
बम्जनलाई कडा सुरक्षाकाबिच गएराति सर्लाही ल्याइएको थियो । सर्लाही ल्याएको २४ घण्टा पनि बित्न नपाउँदै बम्जनलाई अदालतको आदेश अनुसार जलेश्वर कारागार पु¥याइएको हो । बम्जनलाई प्रहरीले अदालतमा ल्याएदेखि नै आज दिनभर उनका समर्थक अदालत बाहिर धुप बत्ती बालेर बसे ।
समर्थक अत्यधिक उपस्थित भएकाले आज दिनभर जिल्ला अदालत परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बम्जन पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा केही वर्ष बसेका थिए । स्थानीयका अनुसार बम्जनको आश्रम अहिले भने सुनसान छ । कहिलेकाँही केही अनुयायी आउजाउ गर्ने गर्छन् ।
याे पनि पढ्नाेस
‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षमा जेल चलान गर्न आदेश