पुस २३ गते साेमबार दिउँसाे जिल्ला प्रशासन कार्यालय मलंगवाकाे बैठक हलमा सर्वदलीय प्रतिनिधिहरुसँग छलफल गर्दै समितिका संयाेजक थानेश्वर गाैतम सहितकाे टाेली । (तस्बिर : उज्यालाे अभियान)
बरहथवा, २४ पुस – सर्लाहीको बरहथवा गाेलीकाण्डकाे छानविन गरि अनुसन्धान प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानविन टोली मंगलबार साँझ (अहिले) काठमाडाैं फर्कीएकाे छ ।
गृह मन्त्रालयले शनिबार गठन गरेकाे सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति आईतबार राती सर्लाही आएकाे थियाे । घटनासँग सम्बन्धित विभिन्न पक्षहरुसँग साेमबार र मंगलबार दिनभर छलफल एवं घटनास्थलकाे स्थलगत अवलाेकन सकेर आफूहरु काठमाडाैं फर्कीएकाे र २-४ दिन भित्रै गृह मन्त्रालयमा अनुसन्धान प्रतिवेदन पेश गरिने समितिका संयाेजक गाैतमले उज्यालाे अभियानलाई बताए ।
टाेलीले मंगलबार बिहान पीडित परिवारसँग भेटघाट गरेकाे छ । बरहथवामा गत शुक्रबार प्रहरीकाे गाेली लागेर मृत्यु भएका स्थानीय ३० वर्षीय जयशंकर साहका परिवारसँग भेटघाट गरेकाे छ । टाेलीले बरहथवा पुगेर मृतक साहकी आमा कलावती देवी सहित परिवारका सदस्यहरुसँग भेटघाट तथा उनिहरुकाे पीडा सुनेकाे हाे । त्यसैगरि मंगलबार नै बरहथवा स्थित आन्दाेलनरत राजनैतिक दलका प्रतिनिधिहरुसँग समेत छलफल गरेकाे छ ।
आईतबार राती अबेर सर्लाही आईपुगेकाे टाेलीले साेमबार बिहान सदरमुकाम मलंगवामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग बैठक सहित आवश्यक जानकारी लिएकाे छ । त्यस्तै साेमबार मध्यान्ह नै टाेलीले बरहथवा नगरपालिका अन्तर्गत घटनास्थल लगायत विभिन्न स्थानकाे स्थलगत अवलाेकन समेत गरेकाे छ ।
साेमबार दिउँसाे नै राजनैतिक दलका प्रतिनिधिहरुसँग समेत टाेलीले सदरमुकाम मलंगवामा छलफल गरेकाे थियाे । जिल्ला प्रशासन कार्यलकाे बैठक हलमा भएकाे छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, जसपा, लाेसपा, राप्रपा लगायत पार्टीबाट आएका जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरुकाे विचार सुनिएकाे समितिका संयाेजक गाैतमले जानकारी दिए ।
सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका सहसचिब गौतम नेतृत्वको टोलीले प्रहरीकाे गाेली लागेर गत शुक्रबार मृत्यु भएका जयशंकर साह गाेलीकाण्ड घटना सहित समग्र अवस्थाकाे सत्यतथ्य छानबिन गरि अनुसन्धान प्रतिवेदन पेश गर्ने छ । समितिलाई मन्त्रालयले गत शनिबारबाट ७ दिनभित्र प्रतिवेदन पेश गर्ने समयावधी दिएकाे छ ।
बुबा बंगाली साहकाे काेराेनाकालमा मृत्यु भएपछि बंगलादेशमा एमबीबीएस अध्यनरत जयशंकर घर फर्किएका थिए । जयशंकर बरहथवाकै सबैभन्दा सुविधासम्पन्न मानिने सर्लाही हाेटल र दाना उद्याेग सञ्चालक हुन् । केही वर्षअघि मात्र पति गुमाएकी कलावती देवी एक्लाे छाेराे जयशंकर साहकाे समेत प्रहरीकाे गाेली लागेर मृत्यु भएपछि भावविह्वल छिन् । उनका ४ वटी छाेरीकाे भने विबाह भईसकेकाे स्थानीयले बताएका छन् ।
यो पनि पढ्नोस्
जयशंकर साहको बागमतीमा अन्त्येष्टि
सामान्य बन्यो बरहथवा, मृतकको शव पोष्टमार्टमपछि परिवारले बुझे
बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमती, मृतकको शव आजै उठाइने
सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार