मलंगवा – सर्लाहीको बरहथवा घटनालाई लिएर आज साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमती जुटेको छ ।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको नामबाट नामाकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमती भएको हो । यो सहमतीसँगै गएको शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कर साहको शव आजै घटनास्थलबाट उठ्ने भएको छ ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमती भएको र सो सहमतीलाई लिखित गरेर हस्ताक्षर गर्नेक्रम काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
छलफलमा सहभागी प्रदेश सभा सदस्य कौशलकिशोर रायले सहमती भएको पुष्टी गरेका छन् ।