मलंगवा, २३ पुस – सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानविन टोलीले साेमबार बिहानबाट काम सूरु गरेकाे छ ।
गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको थियो । आईतबार राती अबेर सर्लाही आईपुगेकाे टाेलीले साेमबार बिहान सदरमुकाम मलंगवामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग बैठक सहित आवश्यक जानकारी लिएकाे छ । टाेलीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमला, नेपाली सेनाका प्रमुख सेनानी सूर्य बहादुर कार्की, नेपाल प्रहरीका उपरीक्षक प्रविण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक सन्ताेष ढुंगेल सहित जिल्ला स्थित सुरक्षा अधिकारीहरुसँग साेमबार बिहान जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल गरेकाे हाे ।
त्यस्तै साेमबार मध्यान्ह नै टाेलीले बरहथवा नगरपालिका अन्तर्गत घटनास्थल लगायत विभिन्न स्थानकाे स्थलगत अवलाेकन समेत गरेकाे छ । साेमबार दिउँसाे २ बजे नै राजनैतिक दलका प्रतिनिधिहरुसँग सदरमुकाम मलंगवामा छलफल राखिएकाे समितिका संयाेजक गाैतमले उज्यालाे अभियानलाई बताए । शनिबारबाट ७ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने समयावधी पाएकाे समितिले सराेकारवाला पक्षहरुसँग तदारुकताका साथ काम गरिरहेकाे छ ।
सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका सहसचिब गौतम नेतृत्वको टोलीले प्रहरीकाे गाेली लागेर गत शुक्रबार मृत्यु भएका जयशंकर साह गाेलीकाण्ड घटना सहित समग्र अवस्थाकाे सत्यतथ्य छानबिन गरि अनुसन्धान प्रतिवेदन पेश गर्ने छ ।
यो पनि पढ्नोस्
बरहथवा गोली काण्ड : छानविन समिति काठमाडौंबाट हिड्यो
बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमती, मृतकको शव आजै उठाइने
बरहथवा नगरपालिकाले दियाे, साेमबार सार्बजनिक बिदा
सामान्य बन्यो बरहथवा, मृतकको शव पोष्टमार्टमपछि परिवारले बुझे