logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डिल्ली प्रसाद उप्रेती सहित नेता कार्यकर्ताहरु पूनः एमालेमा फर्कने तयारी


  • उज्यालो अभियान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा सामुहिक तस्बिर खिचाउँदै नेकपा एकीकृत समाजवादीका नेता डिल्ली प्रसाद उप्रेती, खड्ग प्रसाद उप्रेती तथा एमाले जिल्ला अध्यक्ष राजनारायण साह र नेता विदुर प्याकुरेल । (तस्बिर सौजन्य : सामाजिक संजाल)

टंकबहादुर क्षेत्री/काठमाडौं, साउन १६ – नेकपा एकीकृत समाजवादी सर्लाहीका प्रभावशाली नेता डिल्ली प्रसाद उप्रेती पूनः नेकपा एमालेमै फर्कने भएका छन् ।

नेकपा एमाले सर्लाहीको अध्यक्षको कार्यभार समेत सम्हालिसकेका उप्रेती माधव कुमार नेपालले समाजवादी पार्टी गठन गरेपछि सोही पार्टीमा लागेका थिए । गत प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ क प्रदेश सभामा उप्रेती समाजवादी पार्टीको तर्फबाट प्रत्यासी समेत रहेका थिए ।

उप्रेती सहित समाजवादी पार्टीमा सकृय खड्ग प्रसाद उप्रेती लगायत नेता कार्यकर्ताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट स्थित निवासमै भेटेको तस्बिर अहिले चर्चामा छ । एमालेका राष्ट्रिय अध्यक्ष ओली, सर्लाही अध्यक्ष राजनारायण साह, संगठन विभाग प्रमुख विदुर प्याकुरेलसँग डिल्लीप्रसाद उप्रेती र खड्ग प्रसाद उप्रेतीको सामुहिक तस्बिर सामाजिक संजालमा आएको हो ।

समाजवादी नेता डिल्ली प्रसाद उप्रेतीले यो पंक्तिकारसँग कुरा गर्दै आफूहरु पूनः एमालेमै फर्कन लागेको जानकारी दिए । ‘केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीज्यूसँग हिजो भेट गर्यौं, उहाँ र मेरा बीचमा व्यक्तिगत कुराकानी पनि भए, उहाँले अब विगतका सबै कुरा बिर्सँदै नयाँ सिराबाट एकसाथ अगाडी बढ्ने र उचित जिम्मेवारी दिने समेत विश्वास दिलाउनु भयो’, उप्रेतीले मंगलबार उज्यालो अभियानसँग कुरा गर्दै भने, ‘मेरो मात्र भन्दापनि अब जिल्लाका अन्य साथिहरुको जिम्मेवारी पनि के हुने भन्ने लगायत विषयमा टुंगो लगाउने र छिट्टै नै जिल्लामै भव्य कार्यक्रम गरेर बाटो बिराएका हामी साथिभाईहरु पूनः एमालेमै फर्कने तयारी गर्दैछौं ।’

नेकपा एमाले सर्लाही अध्यक्ष राजनारायण साहले पनि उप्रेती सहितका ३०० जना नेता कार्यकर्ताहरु पूनः आफ्नै घरमा फर्कने तयारीमा लागेको र जिल्लामै भव्य कार्यक्रम गरेर स्वागत गर्ने तयारी भईरहेको उज्यालो अभियानसँग बताए । ‘उहाँहरुले ३०० भन्दा बढी नेता कार्यकर्ताहरु पूनः एमालेमै फर्कने भन्नु भएको छ’, साहले उज्यालो अभियानसँग थपे, ‘त्यसैले जिल्लामै भव्य कार्यक्रम गर्ने तयारीमा छौं ।’

एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले पनि बाटो बिराएर हिडेका साथिभाईहरुलाई पूनः आफ्नै घर एमालेमा स्वागत गर्न आफूहरु आतुर रहेको जानकारी दिए । ‘अब जिल्लामै भव्य कार्यक्रम गरेर हिजो बाटो बिराउनु भएका साथिहरुलाई पूनः आप्mनो पूरानो घर एमालेमै स्वागत गर्ने तयारी भईरहेको छ’, पन्तले उज्यालो अभियानसँग भने ।

सर्बोच्च अदालतले तत्कालिन नेकपा फुटाईदिएपछि प्रतिगमन भन्दै ओली विरुद्धमा लागेका अधिकांश नेताहरु पूनः एमालेमै फर्किएपनि सर्लाहीका प्रभावशाली नेताहरु डिल्ली प्रसाद उप्रेती, बेची लुंगेली, सुरेन्द्र लामा, चूडामणि वाग्ले, गोविन्द अधिकारी, उत्तर कुमार मैनाली, बसन्त भट्टराई, भरतकुमार कार्की लगायत भने माधव कुमार नेपालले स्थापना गरेको एकीकृत समाजवादीमै सकृय भएका थिए । तर गत स्थानीय तहको निर्वाचन लगतै वाग्ले, अधिकारी लगायत नेता कार्यकर्ताहरुको टोली भने पूनः एमालेमै फर्किसकेको छ ।

अब डिल्ली प्रसाद उप्रेतीको नेतृत्वमा अन्य नेताहरु पूनः एमालेमै फर्कने तयारी गरेको बताईएको छ । माधव कुमार नेपालसँग अत्यन्त निकट रहेका समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, प्रदेश सभा सदस्य बेची लुंगेली सहितका नेता कार्यकर्ताहरु भने सोही पार्टीमै रहने बताईन्छ । यद्यपी औपचारिक कार्यक्रम नभईकन को–को एमालेमै फर्कन लागेको भन्ने कुरा स्पष्ट भईसकेको छैन । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले पनि उप्रेती सहितका नेताहरु पूनः एमालेमै फर्कन लागेको आफूले जानकारी पाईसकेको बताए ।

‘को कता जाने भन्ने भन्दा पनि स्वार्थ कता मिल्छ भन्ने कुरा त होला नि’, लामाले उज्यालो अभियानसँग भने, ‘रोक्न धेरै प्रयास गरियो तर सकिएन, सायद उहाँहरुको स्वार्थ अब त्यतै (एमाले) मिल्यो होला ।’

गत प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य निर्वाचनमा पनि समाजवादीका तर्फबाट क्षेत्र नम्बर ३ क प्रदेशमा डिल्ली प्रसाद उप्रेतीले ५ हजार ३७२ मत ल्याउँदा एमालेको तर्फबाट प्रत्यासी रहेका गणेश प्रसाद प्रसाईंले एकहजार ४२५ मतले पराजित हुनु परेको थियो । त्यस्तै समाजवादीका जिल्ला अध्यक्ष लामा स्थानीय तह निर्वाचनमा हरिवन नगरपालिकाको मेयर तथा अधिकारी लालबन्दी नगरपालिकाको उपमेयरमा प्रत्यासी रहेका थिए । हरिवनमा लामाले तीनहजार ८३६ मत ल्याउँदा एमालेको तर्फबाट मेयरका प्रत्यासी गणेश प्रसाद प्रसाईं १५३ मतले मात्र पराजित हुनु परेको थियो ।

हरिवन, लालबन्दी लगायत नगरपालिकामा प्रभाव रहेको समाजवादी पार्टीका नेताहरु धमाधम आफ्नो पूरानै घरको रुपमा परिभाषित गर्दै एमालेमै फर्किन थालेपछि माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सर्लाही क्रमशः कमजोर बन्दै जान थालेको छ ।