लालबन्दी – सात महिनाको खडेरीपछि पर्याप्त वर्षा हुँदा सर्लाहीका किसान हर्षित भएका छन् ।
लामो प्रतिक्षापछि यस क्षेत्रमा गएराति चट्याङसहित ठूलो पानी परेको हो । पर्याप्त आकाशे वर्षा भएसँगै यहाँका किसानले बाँझो रहेको खेतबारी खनजोत गरेर मकै रोप्न पाएका छन् ।
लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका किसान आइतबहादुर दोङले जमिन भिज्ने गरी पानी परेको भन्दै खुसी व्यक्त गरे । सर्लाहीमा गएको भदौदेखि वर्षा हुन सकेको थिएन । गएको शुक्रबार बिहान पनि यस क्षेत्रमा हल्का वर्षा भएको थियो । तर, त्यस दिनको पानीले धुलो मार्ने काम मात्रै गरेको थियो ।
गएराति भने जिल्लाभर नै जमिन भिज्ने गरी पर्याप्त वर्षा भएपछि किसान बाँझो रहेको खेतबारी खनजोतमा ब्यस्त भएका छन् । सर्लाहीमा अधिकांश किसानले आकाशे वर्षाकै भरमा खेती गर्दै आइरहेका छन् । उत्तरी चुरेभेग, पूर्व–पश्चिम राजमार्ग क्षेत्र र दक्षिण–पूर्वी भेगमा आकाशे वर्षाको भरमा खेती हुने गर्छ ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले रातिको वर्षापछि आँप, लिचीजस्ता फलफूल र तरकारी बालीलाई समेत राम्रो फाइदा पुगेको बताए । उनले अब यस भेगका किसानले धमाधम मकै रोप्न थाल्ने जानकारी दिए ।
पानी परेपछि यस क्षेत्रको वातावरण सफा देखिएको छ । धुलो, धुँवाको प्रदुषण कम भइ वातावरण सफा देखिएको हो ।
वन क्षेत्रमा लागेको डढेलो समेत नियन्त्रणमा आएको स्थानीय वासिन्दाले बताएका छन् । सुक्खा रहेका वन क्षेत्र र पाखा पखेरामा अब पालुवा तथा घाँस पलाउने भन्दै पशुपालक किसान पनि खुशी भएका छन् ।