logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा स्ववियु निर्वाचनको तयारी पूरा, भोली बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान


  • उज्यालो अभियान

लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा भोलीको स्ववियू निर्वाचनका लागि बनाइएको मतदान केन्द्र ।

लालबन्दी – सर्लाहीका तीनवटै क्याम्पसमा भोली (आइतबार) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

त्रिभुवन विश्वविद्यालय मातहत रही सञ्चालित जिल्लाको सर्लाही क्याम्पस मलङ्गवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा भोली एकैसाथ स्ववियु निर्वाचन हुँदैछ । भोली बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । त्यसका लागि मतदान केन्द्र तयार पारिसकिएको छ ।

यि तीनवटा क्याम्पसमा ६० जना विद्यार्थी नेता प्रतिस्पर्धामा छन् । स्ववियू निर्वाचनमा स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएका विद्यार्थीले मतदान गर्न पाउने छन् । तीनवटा क्याम्पसमध्ये सबैभन्दा धेरै सर्लाही क्याम्पस मलङ्गवामा दुई हजार २३७ जना विद्यार्थी रहेका छन् ।

यो क्याम्पसमा पदाधिकारी र सदस्य सम्पूर्ण प्रत्यक्षबाट निर्वाचित हुने छन् । एक सभापतिका लागि तीन जना, एक उपसभापतिका लागि चार जना, एक सचिवका लागि तीन जना, एक कोषाध्यक्षका लागि चार जना र एक सह–सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

छ जना सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको सर्लाही क्याम्पस मलङ्गवाको स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाले जानकारी दिए । मलङ्गवामा विभिन्न दलबीच तीनवटा गठवन्धन बनेको छ ।

यस्तै, जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा ९९६ जना विद्यार्थीले मतदान गर्दै छन् । क्याम्पसमा प्रत्यक्षबाट निर्वाचित हुने एक जना सभापतिका लागि दुई जना, एक जना सचिवका लागि दुई जना र एक जना कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

प्रत्यक्षमा छ जना सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक धर्मेन्द्र अधिकारीले बताए । जनज्योतिमा जसपा नेपालले कोषाध्यक्षमा मात्रै उम्मेदवारी दिएको छ भने एमालेले एकल र अन्य दलले गठवन्धन गरेर उम्मेदवारी दिएका छन् ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका क्याम्पस प्रमुख उमेश तिमल्सिनाले आफूहरु स्ववियू निर्वाचन अन्तर्गत भोली हुने मतदान र मतगणनाको समेत तयारीको काम पूरा गरी बसेको बताए ।

त्यसैगरी, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा सभापति, सचिव र कोषाध्यक्षका लागि दुई–दुई जनाको उम्मेदवारी परेको छ । सुखेपोखरीमा विभिन्न दलले तालमेल गरी बनाएको गठवन्धन र नेकपा एमालेको विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।

९७० जना विद्यार्थी रहेको सुखेपोखरीमा सभापतिमा दुई जना, सचिवमा दुई जना, कोषाध्यक्षमा दुई जना र सदस्यमा १२ जनाको उम्मेदवारी परेको स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले बताए ।

जनज्योति र चतुर्भूजेश्वरमा समानुपातिकबाट पनि छ–छ जना सदस्य छानिने छन् । समानुपातिकबाट चुनिएका छ जना सदस्यमध्येबाटै उपसभापति र सह–सचिव मनोनित गरिने छ ।