लालबन्दी – सर्लाहीको लालबन्दीमा शुक्रबार नागरिक सम्वादका लागि जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम सम्पन्न गरिएको छ ।
लालबन्दी नगरपालिकाको पुरानो भवनमा यहाँका सरोकारवालाहरुलाई सहभागी गराई कार्यक्रम गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले प्रशासन र पालिकाबीच सुमधुर सम्वन्ध कायम गर्दै आपसी समन्वयमा हुने कामलाई चुस्त र व्यवस्थित बनाई नागरिकलाई सहज सेवा दिन सकियोस् भनेर यो कार्यक्रम गरिएको बताए ।
यसअघि चक्रघट्टा र ब्रम्हपुरी गाउँपालिकामा यस प्रकारको कार्यक्रम भइसकेको छ । कार्यक्रममा सहभागीले राखेको जिज्ञाशाको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यो कार्यक्रमपछि सुरक्षा अंग र पालिकासँगको समन्वयमा हुने धेरै काम चुस्त र नागरिकमैत्री हुने बताए ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले संचालन गरेको कार्यक्रममा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, लालबन्दीका निर्वतमान मेयर मानबहादुर खड्का, मेयरका प्रत्यासी प्रल्हाद बुढाथोकी र गोविन्द बहादुर महत, वडाध्यक्ष, कार्यपालिका सदस्य, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख रामनरेश राम, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्की, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।