logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

स्वास्थ्य चौकी परवानिपुरमा प्रयोगशाला स्थापना


  • उज्यालो अभियान

परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा रहेको स्वास्थ्य चौकी परिवानिपुरमा बिहीबारबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

यो स्वास्थ्य चौकीबाट लालबन्दी नगरपालिकाको १५ र १६ नम्वर वडाका वासिन्दाले सेवा लिँदै आएका छन् । वडा नं. १५ ले स्वास्थ्य प्रयोगशालाको औजार उपकरण र वडा नं. १६ ले एक जना ल्याब टेक्निसियनको व्यवस्था मिलाइ प्रयोगशाला सेवा अर्थात् ल्याब टेष्ट सुरु गराएका हुन् ।

प्रयोगशालामा रगत, टाइफाइडलगायतको परीक्षण हुने जनाइएको छ । प्रयोगशालाबाट गर्भवतीले निःशुल्क सेवा पाउने छन् ।

ज्येष्ठ नागरिकलाई ५० प्रतिसत सहुलियत र अन्यलाई स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिले तय गरेको दररेट अनुसार शुल्क लिइने स्वास्थ्य चौकीले जनाएको छ । लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष एवं लालबन्दी नगरपालिकाका प्रवक्ता गणेशबहादुर थापाले वडा नं. १५ र १६ का वासिन्दालाई रगत वा दिसा, पिसाब परीक्षण गर्न धरी लालबन्दी बजार नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँकै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको जानकारी दिएका छन् ।

लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरबहादुर बलले चुरे पाखैपाखाको विकट बस्ती रहेका आफ्नो वडाका अतिविपन्न र सुकुम्वासी परिवारलाई स्वास्थ्य क्षेत्रमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयले लगानी गरेर प्रयोगशाला स्थापना गराएको बताए ।

स्वास्थ्य चौकीसँगै बर्थिङ सेन्टर समेत रहेकाले प्रसुति सेवा लिन आउने गर्भवती महिलालाई अब ल्याबको सेवा लिन सहज भएको छ । लालबन्दी नगरपालिकाभित्र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी, स्वास्थ्य चौकी पत्थरकोट र स्वास्थ्य चौकी परवानिपुरमा प्रयोगशाला स्थापना भएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले बताए ।