चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वास्थित मुसहर बस्तीमा दुई महिनाको अवधिमा पाँच जना मुसहरको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् ।
मुसहर बस्तीका चार पुरुष र एक महिलाको ज्यान गएको हो । ५५ वर्षीया केउला माझी, २२ वर्षीय तिलाई माझी, ५० वर्षीय नन्दु माझी, ५५ वर्षीय सोमिन्दर माझी र ४८ वर्षीय चेतनारायण माझीको अज्ञात रोगबाट मृत्यु भएको स्थानीयले बताएका छन् ।
सोमिन्दर माझीको फागुन २९ गते, नन्दु माझीको फागुन २८ गते, चेतनारायण माझीको माघ २८ गते, तिलाई माझीको माघ १५ गते र केउला माझीको पुस २८ गते मृत्यु भएको हो । एउटै गाउँमा पालैपालो पाँच जनाको मृत्यु भएपछि बडकुर्वास्थित मुसहर बस्ती अहिले शोकमग्न छ भने स्थानीय रातदिन त्रासमा बसिरहेका छन् ।
पाँचै जनाको मृत्युको कारण प्रष्ट भइसकेको छैन् । मृतक पाँचै जनामा एउटै खालको लक्षण देखिएको स्थानीयको भनाई छ ।
सबैको एक्कासी रगत छादेर मृत्यु भएको स्थानीय पतिदेवी माझीले बताईन् । “गाउँमा यसरी एक्कासी पाँच जनाको मृत्यु हुँदा सबैमा त्रास छ, कोही पनि चैनसँग बस्न सकेका छैन्,” पतिदेवीले भनिन्, “बिरामीलाई अस्पताल समेत पु¥याउन नपाइ आधा घण्टाभित्र मृत्यु भएको छ । गाउँमा पहिलो पटक भएको यो घटनापछि हामी त्रसित छौँ ।”
अर्का स्थानीय रीतादेवी माझीले नियमित काम धन्दा गरिरहेकाहरुको एक्कासी मृत्यु भइरहेको बताईन् । “हिँड्डुल र कामधन्दा गरिरहेका व्यक्तिको मृत्यु भइरहेको छ, प्रायः अधिकांशको राति १२ बजेपछि मृत्यु भएको छ,” माझीले भनिन ।
मृतक चेतनारायण माझीकी श्रीमती नैनदेवि माझीले जाँड–रक्सी सेवन नगर्ने आफ्नो श्रीमानको हिँडडुल गर्दागर्दै मृत्यु भएको बताईन । बेलुका खाना खाएर सुत्नुभएको थियो, राति अचानक रगत नै छादेर मलाई गाह्रो भयो भन्न थाल्नुभयो,” नैनदेवीले भनिन, “आधाघण्टाभित्र अटो बोलाएर अस्पताल लान खोज्दा प्राण त्याग्नुभयो ।”

बस्तीका स्थानीय आफूहरुको कूल देउता रिसाउँदा गाउँमा यस्तो घटना भइरहेको भन्ने अन्धविश्वासमा छन् । तराईको अतिपिछडिएको दलित समुदाय अन्तर्गत पर्ने मुसहर समुदायले भुइँया महाराजको बर्सेनि पूजा गर्ने गर्छन् ।
स्थानीयले धाँमीझाँक्रीको भर गरी फूकफाकसमेत गर्दै आइरहेका छन् । स्थानीय भुनेश्वर माझीले धाँमीकहाँ जाँदा भुइँया महाराजको पूजा गर्न सुझाएपछि गाउँभर चन्दा उठाएर डेढ लाख रुपियाँ खर्चिएर फागुन १९ गते सामूहिक भुइँया पूजा गरिएको बताए ।
गाउँमा देउता रिसाएको र भूतप्रेत घुमिरहेको भनी सबैजना डराइरहेका माझीले बताए । “यहाँ कसैले भुइँया महाराज बिग्रिएको, कसैले बरम महाराज बिग्रिएको र कसैले महारानी जी बिग्रिएको छ भनिरहेका छन्, वास्तवमै के भएको हो ? हामी त अन्यौलमै छौँ,” माझीले भने “चन्दा उठाएर भुइँया पूजा गरेपछि पनि दुई जनाको मृत्यु भइसक्यो, अझै के–के हुने हो भनी डर लागिरहेको छ ।”
बडकुर्वास्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख ब्रम्हदेव साहले मुसहरको मृत्युको कारण पत्ता लगाउन लागिपरेको बताए । “अधिकांशमा चार÷पाँच पटक बान्ता हुने र बान्ता भएपछि रगत नै आउने गरेको पाएका छौँ,” साहले भने, “वास्तविक कारण पत्ता लगाउन हामीले मङ्गलबार बस्तीका ११ जनाको खकार लिएर परीक्षणका लागि गाउँपालिकामा पठाएका छौँ । रिपोर्ट आएपछि कारण पत्ता लाग्न सक्छ ।”
आफूहरु गाउँमा जाँदा पनि मुसहर समुदायले देउता बिग्रिएको र पूजापाठ गरिरहेको भनेर बताइरहेका साहले बताए । उनका अनुसार बुधकार पनि बस्तीमा स्वास्थ्यकर्मी पठाएर स्थानीयको खकारको नमूना सङ्कलन गरिएको छ ।

चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अमृत चौधरीले मृतकहरुको अवस्थाबारे प्रारम्भिक बुझ्दा तीन जनाले अत्यधिक रक्सी सेवन गर्ने गरेको र एक जनाले उच्च रक्तचापको औषधि सेवन गरी बीचमा औषधि खान छाडेको पाइएको बताए । बस्तीमै पुगेर बुझ्दा केउला माझीले उच्च रक्तचापको औषधि खाएर बीचमा छाडेको, चेतनारायण माझी क्षयरोग (टिबी) बाट मुक्त भइ बीचमा स्वस्थ भइसकेको र तिलाई माझी, नन्दु माझी र सोमिन्दर माझीले अत्यधिक रक्सी सेवन गर्ने गरेको पाइएको चौधरीले बताए ।
उनले प्रारम्भिक रुपमा निकालिएको ‘रिपोर्ट’ लाई थप अनुसन्धानका लागि स्वास्थ्य कार्यालय मलङ्गवा, प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुर, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँमा पठाइएको बताए । स्वास्थ्य शाखाका प्रमुख चौधरीले स्थानीयलाई देवि देउता रिसाएर नभइ यो–यो समस्याले घटना भएको हो भनी जनचेतना जगाउने गरेको बताए ।