हरिवन – नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सर्लाहीको वर्तमान जिल्ला कार्य समिति विघटन भएको छ ।
प्रेस सेन्टर नेपालको मधेश प्रदेश समितिले बुधबार एक पत्र सार्वजनिक गरी शंकर पहाडी (एसपी गौरव) नेतृत्वको प्रेस सेन्टर नेपाल सर्लाही शाखा विघटन भएको घोषणा गरेको हो । प्रदेश समितिका अध्यक्ष किरण कर्ण र महासचिव गोपालप्रसाद गुप्ताले हस्ताक्षर गरी जारी गरेका पत्रमा सर्लाही शाखाले संगठनात्मक प्रक्रिया, विधान र अनुशासन विपरीतका काम कारवाही गर्दै आएको हुनाले विघटन गरिएको उल्लेख गरिएको छ ।
यस्तै, सो पत्रमा दुई साताभित्रमा संगठनको जिल्ला भेला गरेर नयाँ जिल्ला समन्वय समिति चयन गर्न प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्दन पोखरेललाई जिम्मेवारी तोकिएको छ ।
पोखरेलले सो पत्र आफूलाई पनि प्राप्त भएको र दुई साताभित्र प्रेस सेन्टर नेपाल सर्लाहीको नयाँ समिति गठन गर्ने उज्यालो अभियानसँग बताए ।