प्रतिकात्मक तस्बिर ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा बाख्रा गोठालो गएका एक जना पुरुष मंगलबार जंगलमै मृत फेला परेका छन् ।
स्थानीय ५५ वर्षीय चुलाइ महतो सागरनाथ वन विकास परियोजनाको जंगलमा मृत फेला परेका हुन् । सोमबार दिउँसो बाख्रा चराउन घर छेउकै जंगलमा गएका महतो फर्किएर नआएपछि आफन्तले मंगलबार बिहान प्रहरीमा खबर गरेका थिए ।
प्रहरी र स्थानीय मिलेर खोजी गर्नेक्रममा मंगलबार मध्यान्ह बीच जंगलमा महतोलाई मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेको अवस्थामा फेला पारियो । उनलाई तत्कालै मोडेल अस्पताल लालबन्दी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।
मृतक महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । शवको प्रकृति हेर्दा महतोलाई कसैले आक्रमण गरी हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ । स्थानीयका अनुसार अविवाहित महतोको परिवारका कोही सदस्य छैनन् ।
सोमबार चुलाइले चराउन लिएर गएकामध्ये केही बाख्रा समेत घर फर्किएर आएका छैनन् ।