मलंगवा – रंगहरूको पर्व होली आज सर्लाहीसहित तराईका जिल्लामाहरूमा मनाइँदै छ ।
पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।
होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । तराई मधेसमा मंगलबारलाई खर दिन (कडा दिन) को रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन छ । त्यसैले गर्दा कतिपयले भोली बुधबार मात्रै होली खेल्ने योजना बनाएका छन् ।
त्यसैले गर्दा यसवर्ष पनि तराई मधेसमा तीन दिन होली पर्व मनाइने भएको छ । सर्लाहीको पहाडे समुदायको बाहुल्यता रहेको जिल्लाको उत्तरी भेगका लालबन्दी, नवलपुर, हरिवन, बागमती, रानिगन्जलगायत क्षेत्रमा हिजो पहाडी क्षेत्रमा होली मनाएको दिन नै होली मनाइएको थियो भने आज दोस्रो पनि मनाइँदै छ ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।
पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।