बरहथवा – सर्लाहीको बरहथवाका सरोकारवालाहरुले तराईको अति नै पिछाडिएको दलित समुदायमा पर्ने माझी, मुसहरको शिक्षामा पहुँच बढाउन आ–आफ्नो स्थानबाट लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले बिहीबार बरहथवा नगरपालिकाको सभा हलमा आयोजना गरेको शिक्षामा दलित, विपन्न समुदायको पहुँच तथा चूनौति विषयक छलफल कार्यक्रममा सहभागीले शिक्षामा साँच्चै नै मुसहर, माझीको अवस्था दयनीय रहेकाले सुधार गर्न लागि पर्ने प्रतिवद्धता जनाएका हुन् । बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालले हातमुख जोर्न मुसहर अभिभावक इँटा भट्टामा जाँदा उनीहरुको बालबच्चाको पढाई छुट्ने गरेको भन्दै सो समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार लगायत अन्य सीपमुलक कार्यक्रममार्फत मुसहर समुदायलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न पहल गर्ने बताईन् ।
उनले मुसहर समुदायको दयनीय अवस्थाबाट आफूपनि चिन्तित रहेकाले विगतमा जे भएपनि आफू अब मुसहरको उत्थानमा लागि पर्ने वचन दिईन् । वडा नं. ८ का वडाध्यक्ष राजकिशोर महतो र वडा नं. ११ का वडाध्यक्ष नवराज राईले यो वर्ष योजना छनौटका विषयमा पहिलो कार्यकाल भएकाले खासै जानकारी नहुँदा मुसहरका लागि बजेट छुट्याउन नसकेपनि अब अर्को वर्षदेखि मुसहरको विकास र उत्थानका लागि बजेट विनियोजन गर्ने बताए ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख अनिलकुमार साहले अनेक अभाव र चूनौतिकै बीच मुसहर समुदायलाई शिक्षाको पहुँचमा ल्याउन लागिपर्नुको विकल्प नरहेको बताए । कार्यक्रममा बरहथवा ८ टाँडीकी मुसहर महिला सन्जावती माझीले मुसहर समुदायको समस्याबारे जनप्रतिनिधिले कुनै वास्तै नगरेको दुःखेसो पोखिन् ।
उनले मुसहरका बालबच्चालाई विद्यालय जाँदा लगाउने पोसाक, जुत्ता, झोलाकै अभाव रहेको गुनासो गरिन् । कार्यक्रममा सहभागी विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापकलगायतले मुसहर बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाई राख्न निरन्तर प्रयास गरेपनि उनीहरुका बुवाआमासँगै पेट पाल्नकै लागि सँगै इँटा भट्टामा गइदिँदा समस्या भइरहेको बताएका छन् ।
आयोजक साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले मुसहरलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गरी बाबुआमालाई गाउँघरमै राखेर बालबालिकाको पढाईलाई निरन्तर अगाडि बढाउन सबै लागि पर्नुपर्नेमा जोड दिए ।