logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

माझी समुदायले बागमतीमा हर्षोउल्लासपूर्वक लदीपूजा मनाए (फोटोमा हेर्नुस्)


  • उज्यालो अभियान

बागमती – जनजाति अन्तर्गत पर्ने सर्लाहीका माझी समुदायले पनि मंगलबार आफ्नो प्रमुख चाड कोशी अर्थात् लदी पूजा धुमधामसँग मनाएका छन् ।

 

जिल्लाभरका माझी समुदाय बागमतीस्थित निर्माणाधीन माछा पोखरी (भरत ताल) मा भेला भएर आफ्नो ऐतिहाँसिक पर्व लदीपूजा मनाएका हुन् । माझी समुदायलाई नदी, खोलामा डुंगा खियाउने जातिका रुपमा चिनिन्छ । तर, पछिल्लो समय उनीहरुले अन्य पेशा व्यवसाय अंगाली सकेका छन् ।

मंगलबारको कार्यक्रममा पनि डुंगा बनाएर प्रदर्शन गरिएको थियो । गत वर्षदेखि यहाँका माझी समुदाय संगठित भएर यसरी लदीपूजा पर्व मनाउँदै आएका छन् ।

सोही अनुसार यस वर्षपनि भव्य कार्यक्रम गरी लदी पूजा मनाइएको आयोजक नेपाल माझी उत्थान संघ सर्लाहीका अध्यक्ष राजकुमार कुशवारले जानकारी दिए । संविधान सभाका सदस्य नरेन्द्र साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, महिला नेतृहरु रीता मैनाली, विभा नेपाललगायत अन्यको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुगम पोखरेल, प्रकाश सपुत, सीता माझी, अन्जली माझीलगायतले आ–आफ्नो प्रस्तुत दिएका कार्यक्रम संचालिका अनिता माझीले जानकारी दिईन् । माझी समुदायले लदी पूजालाई प्रकृति पूजाको रुपमा लिने गर्छन् ।

कार्यक्रममा माझी समुदायका पुरुष तथा महिलाहरु माझी समुदायको पोसाकमा सजिएर सहभागी भएका थिए । औपचारिक कार्यक्रम अघि माझी समुदायले आफ्नो धार्मिक तथा साँस्कृतिक परम्परा अनुसार बागमती नदी किनारमा लदी पूजा गरेका छन् ।