नाढीताल – सर्लाहीको चन्द्रनगरमा सोमबार स्थानीय तहमा न्यायिक समितिको काम, कर्तव्य र अधिकार क्षेत्र विषयक १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले गाउँपालिकाको सभा हलमा न्यायिक समिति र ७ वटै वडाका मेलमिलापकर्तालाई अनुशिक्षण प्रदान गरेको हो । न्यायिक समितिको काम, कर्तव्य र अधिकारसँगै न्यायिक समितिले हेर्ने मुद्दा, मेलमिलापकर्ताले मेलमिलाप गराउँदा अपनाउनुपर्ने प्रक्रियालगायतबारे प्रष्ट पार्ने उद्देश्यले अनुशिक्षण प्रदान गरिएको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।
सहभागी न्यायिक समितिका पदाधिकारी र मेलमिलाप केन्द्रका मेलमिलापकर्तालाई कृष्ण गौतमले प्रशिक्षण प्रदान गरेका आयोजकले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीतादेवी महतो, न्यायिक समितिका सदस्य एवं वडा नं. १ का वडाध्यक्ष रामेश्वर प्रसाद महतो, न्यायिक समितिका फोकल पर्सन बासुदेव महरालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले न्यायिक समिति र मेलमिलापकर्तालाई पार्टी, जात र गुट नहेरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरे ।