परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ परवानिपुरमा लामो समयदेखि थन्काएर राखिएको एम्बुलेन्स संचालनका लागि आज समिति बनाइएको छ ।
पटक–पटकको भेलापछि आइतबार बल्ल सहमती जुटाएर समिति बनाइएको हो । सामुदायिक स्वास्थ्य सेवा समाज संस्थाको पद्मबहादुर खड्का (दीपक) अध्यक्ष रहने गरी तत्कालका लागि ७ सदस्यीय समिति बनाइएको हो ।
भूगोल मिलाएर समितिमा पछि केही सदस्य थपिने छ । परवानिपुरमा केही वर्षअघि सप्ताह लगाएर उठाइएको पैसाले एम्बुलेन्स किनिएको थियो ।
सो एम्बुलेन्स केही समय थन्काएर गुमनाम पारेर राखियो । एम्बुलेन्स पुनः गाउँमा झिकाएर नयाँ समिति गठन गरी फेरि संचालनको तयारी गरिएको हो ।
आइतबार संस्थाका निवर्तमान अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा लालबन्दी १५ र १६ का वडाध्यक्ष क्रमश : गोरखबहादुर बल र गणेशबहादुर थापालगायतको उपस्थितिमा ७ सदस्यीय समिति गठन गरी तत्काल एम्बुलेन्स संचालनमा ल्याउने निर्णय समेत गरिएको छ ।