logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा वृहत खानेपानीको छैठौं वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

नवराज अधिकारी/बागमती – सर्लाहीको बागमतीमा रहेको वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

बागमती नगरपालिका–१, स्थित खानेपानीको कार्यालय परिसरमा संस्थाका अध्यक्ष वसन्त भट्टराईको अध्यक्षता तथा नेपाल सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाले बागमती नगरपालिकाको वडा नं. १, २ र ३ मा झण्डै १८ सय घरधुरीमा पानी वितरण गर्दै आइरहेको छ ।

संस्थाले साधारण सभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको कार्यक्रम संचालक भिम विश्वकर्माले जानकारी दिए । संस्थाले कार्यक्रमका प्रमुख अतिथि एवं रक्षा मन्त्री उप्रेती र प्रतिनिधि सभाकी सदस्य सरस्वती सुब्बालाई कदर–पत्र र दोसल्लाले सम्मान गरेको छ ।

यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि एवं मधेश प्रदेशसभा सदस्य जवाहरलाल कुशवाह, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, बागमती १, २ र ३ नम्बर वडाका वडाध्यक्षहरु क्रमश ः गम्भीरसिंह पाख्रिन, टेकबहादुर बल र तिलक मोक्तानलाई समेत कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको संस्थाले जनाएको छ । संस्थालाई जग्गा उपलब्ध गराएका जग्गादाता स्व. नरसिंह बहादुर थापा, नरबहादुर भण्डारी र अष्ट कुमार श्रेष्ठको परिवारलाई समेत सम्मान गरेको संस्थाका सचिव रामहरि थापाले बताए ।

साधारण सभामा खानेपानी संस्थाले गत आर्थिक बर्ष २०७८÷०७९ मा दुई करोड १४ लाख ८३ हजार ९ सय १९ रुपैया ४८ पैसा बराबरको आम्दानी तथा खर्च विवरण प्रस्तुत गरिएको छ । यसैगरी विद्यालय, मठ, मन्दिर तथा स्वास्थ्य संस्थाहरुले चैत मसान्त सम्म बक्यौता बापतको रकम भुक्तानी गरेमा बैशाखबाट प्रतिमहिना १० हजार लिटर पानी निःशुल्क उपभोग गर्न दिने प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेल, माओवादी केन्द्रका बागमती नगरअध्यक्ष कुमार तुम्सिङ मगर, नेपाली कांग्रेसका नेता दीपककुमार राणाभाट, कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष हरिराम काफ्ले, जन वालकल्याण माध्यामिक बिद्यालय धरहराको ब्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहरा, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।