logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बजार अनुगमन टोली आएपछि तनाव, ४ वटा पसललाई जरिवाना


  • उज्यालो अभियान

सडकमा टायर बालेर अवरोध गर्न निस्किएका व्यापारी । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा शनिबार बजार अनुगमन गर्न आएको टोली व्यापारीबाट अवरोध भएपछि अनुगमन नै स्थगित गरेर फर्किएको छ ।

पर्साको वीरगञ्जस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट निमित्ति कार्यालय प्रमुख सुरेश रेग्मीको नेतृत्वमा अनुगमन टोली शनिबार बिहान हरिवन बजार आइपुगेको थियो । सो टोलीले बजार अनुगमनकाक्रममा हरिवन बजारका चारवटा पसल अनुगमन गर्दा चारवटै पसल कानून मिचेर सञ्चालन गरेको भेटिएपछि पाँच हजार रुपियाँका दरले जरिवाना गरायो ।

त्यसपछि असन्तुष्ट व्यापारीले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै अनुगमनमा अवरोध गरेका हुन् । बजारका व्यापारी पसल बन्द गरी सडकमा निस्किएर प्रदर्शन गर्न थालेपछि अनुगमन टोली अनुगमन नै रोकेर वीरगञ्ज फर्किएको हो ।

अनुगमनमा इलाका प्रशासन कार्यालय हरिवनका निमित्त प्रमुख रञ्जित साह, उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठसहित अन्य सरोकारवाला र सुरक्षाकर्मी खटिएका थिए । चारवटा पसलको अनुगमन सकेर पांँचौं पसलमा जाँदा व्यापारीहरु प्रदर्शनमा उत्रिएपछि अनुगमन स्थगित गरी वीरगञ्ज फर्किएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्ति प्रमुख सुरेश रेग्मीले बताए ।

“हामी त शनिबार दिनभर बजारका पसल, व्यवसाय अनुगमन गर्ने गरी आएका थियौँ तर व्यापारीबाट असहयोग हुन थालेपछि केहीबेरमै फर्कियौँ,” रेग्मीले उज्यालो अभियानसँग भने । बजार अनुगमन टोलीले मागेको बखत व्यवसाय दर्ता प्रमाण–पत्र नदेखाएको तथा बिक्री बिल नभेटिएको धमला सु–सेन्टर, बिक्री बिल नभेटिएको समिरा वस्त्रालय र टेलरको मात्रै दर्ता लिएर कपडा समेत बेच्ने गरेको न्यू जेन्स टेलर्सलाई जनही पाँच हजार रुपियाँ जरिवाना तिराइएको छ ।

यस्तै, अन्नपूर्ण जेनरल स्टोर्समा म्याद गुज्रिएको मह बिक्रीका लागि राखेको फेला परेपछि मह नष्ट गरी पाँच हजार रुपियाँ जनिवाना तिराइएको छ । सो पसलबाट म्याद गुज्रिएको २५० ग्रामको १६ डब्बा र पाँच सय ग्रामको २० डब्बा मह तथा एउटा मिट मसला बरामद गरी नष्ट गरिएको अनुगमन अधिकृत रेग्मीले बताए ।

चारवटा पसललाई जरिवाना गराई राम गल्ला भण्डारमा अनुगमनका लागि जाँदा व्यापारीको समूह सडकमा आएपछि केहीबेर तनावग्रस्त अवस्था सिर्जना भएको थियो । उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठले एक पटकलाई जरिवाना नगरिदिन आग्रह गर्दा पनि जरिवाना तिराइएपछि व्यापारी आक्रोशित हुन पुगेको बताए ।

व्यापारीले कोरोनापछि व्यापार, व्यवसाय तङग्रिन नपाउँदै अनुगमनको नाममा जरिवाना गराएर तर्साउने काम भएको बताएका छन् । अनुगमन टोली फर्किएपछि प्रहरीले आक्रोशित व्यापारीलाई सम्झाइबुझाई गरी पूर्व–पश्चिम राजमार्ग सूचारु गराएको छ ।

वीरगञ्जमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मधेश प्रदेशका आठ जिल्लासहित मकवानपुर र चितवन जिल्लाको बजार अनुगमन गर्ने जिम्मेवारी पाएको छ ।