लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–११ हीरापुर र १३ पत्थरकोटलाई जोड्ने गरी बाहुनी खोलामा बन्न लागेको झोलुंगे पुलको बुधबार शिलान्यास गरिएको छ ।
झोलुंगे पुलको पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले शिलान्यास गरेका हुन् । कार्यक्रममा लालबन्दी ११ र १३ का वडाध्यक्ष क्रमश ः दीपक कुमार लामा र शिवकृष्ण वैद्यसहित स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।
हीरापुरबाट उत्तर पत्थरकोट, छेडा, जियाजोर, नारायणखोलातर्फ जानका लागि बाहुनी खोलामा पुल नहुँँदा बर्खायाममा स्थानीयलाई समस्या हुँदै आएको थियो । अब त्यहाँ झोलुंगे बन्ने भएपछि खुसी लागेको लालबन्दी १३ का स्थानीय मोहन राउतले जानकारी दिए ।
पूर्वाधार विकास मन्त्रालयको झोलुंगे पुल महाशाखाको झण्डै एक करोड रुपियाँ लागतमा बाहुनी खोलामा झोलुंगे पुल बनाउन लागिएको हो । बाहुनी खोलामा पक्की पुल निर्माणका लागि पटक–पटक रातो किताबमा परेपनि अन्तिममा बजेट नपर्दा काम हुन सकेको थिएन् ।