logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चितयानसहित सर्लाहीका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीका विभिन्न शिवालयमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महाशिवरात्रिका अवसरमा जिल्लाको चितायनसहित विभिन्न शिवालयमा दर्शनाथीको भीड लागेको हो । हरिपुर नगरपालिका–७, मा पर्ने लक्ष्मीनाथ महादेव मन्दिर चितायनमा जिल्लाभरमा सबैभन्दा धेरै दर्शनार्थीको भीडभाड हुन्छ । त्यहाँ बिहान २÷३ बजेदेखि नै दर्शनाथीको अत्यधिक घुइँचो रहेको हरिपुर ७ चितायनका वडाध्यक्ष मनोजकुमार चौधरीले उज्यालो अभियानसँग बताए ।

पौराणिक तथा ऐतिहासिक चितायन मन्दिरमा दर्शनका लागि जिल्ला तथा जिल्ला बाहिरका दर्शनार्थी समेत पुग्ने गरेका छन् । चितायनमा भान्टाको भार चढाउने पनि उत्तिकै हुन्छन् । त्यहाँ भान्टाको भार चढाए छाला सम्वन्धी रोग निको हुने जनविश्वास छ ।

चितायनमा आजैदेखि वर्षौअघिदेखि लाग्दै आएको ऐतिहासिक मेला समेत सुरु भएको छ । मन्दिर तथा मेलामा मानिसको अत्यधिक भीडभाड हुने भएकाले चितायनमा आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय हरिपुरले जनायो ।

यस्तै, लालबन्दीस्थित डुमडुमे महादेव मन्दिर, हरिवनमा रहेका चतुर्भूजेश्वर महादेव मन्दिर सुखेपोखरी र कैलाशपुरी महादेव मन्दिर, मूर्तियास्थित मुक्तेश्वर बाबाधाम, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर र फूलजोर बाबा मन्दिर, फरहदथवास्थित शिवमन्दिर सहित प्रत्येकजसो गाउँमा रहेका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

दर्शनार्थीले लाइनमा बसेर पालैपालो पुजा गरिरहेका छन् । यसैबीच, प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

चितायनस्थित लक्ष्मीनाथ महादेव मन्दिरमा आज बिहान पूजाअर्जनाका लागि पुगेका दर्शनार्थी । (तस्बीर : उज्यालो अभियान)